उखु किसानका माग तुरुन्त पुरा गरौं – नेता डा. शेखर कोइराला


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १० २०८२
3.9K
SHARES

१० भदौ काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कृषि क्षेत्रलाई र किसानका विषयलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । उखुका बोटसहित किसानहरु आन्दोलनमा आउनु दु:खद स्थिति भन्दै उनले उखु किसानका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दु:खद स्थिति हो । उनीहरुको माग तुरुन्त पुरा गरौं ।’

डा. कोइरालाले सामाजिक सञ्जालमार्फत सरकारमाथि विभिन्न प्रश्नहरु गरेका छन् । ‘खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं ?’ डा. कोइरालाको प्रश्न छ । उनको थप प्रश्न छ, ‘कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ?’