आईटी क्षेत्रमा दक्ष जनशक्तिलाई सरकारले दुई लाखसम्म तलबको व्यवस्था गर्ने
१२ भदौ काठमाडौं । सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले मासिक दुई लाख रुपैयाँसम्म तलबको व्यवस्था गर्ने भएको छ । सरकारको यो निर्णयलाई प्राविधिक क्षेत्रका विज्ञ तथा सरोकारवालाले स्वदेशमै रोजगारी सिर्जना गर्ने सुखद कदमका रूपमा लिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यसबाट अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिनेछ ।”देशमा प्राविधिक ज्ञान भएका युवा पर्याप्त अवसर नपाएर विदेश पलायन हुने गरेको अवस्था छ । सरकारले ल्याएको यो तलब व्यवस्थालाई ‘ब्रेन ड्रेन’ रोक्ने उपायका रूपमा पनि लिइएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
यसले सफ्टवेयर प्रणाली विकास र सञ्चालनमा लाग्ने लागत अनुमानलाई यथार्थपरक बनाउने सरकारको जिकिर छ । आईटी पढेका र दक्षता हासिल गरेका युवालाई आकर्षण गर्ने गरी यो योजना ल्याइएको छ ।