राष्ट्र बैंकको बैंक, वित्तीय संस्थाको सीएसआर खर्चमा कडाइ


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १५ २०८२
1.3K
SHARES

१५ भदौ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व (सीएसआर) कोषको दुरुपयोग गर्दै आएको गुनासो बढेपछि यसलाई कडाइ गर्ने उद्देश्यले नयाँ व्यवस्था ल्याएको छ। राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (प्रथम संशोधन, २०८२)’ जारी गर्दै सीएसआर कोष पारदर्शी, उद्देश्यपूर्ण र लक्षित वर्गमुखी ढंगले खर्च गर्नुपर्ने प्रावधान स्पष्ट गरेको हो।

नयाँ मार्गदर्शनअनुसार बैंक तथा वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्षको खुद नाफाबाट तोकिएको प्रतिशत छुट्याई सीएसआर कोषमा जम्मा गर्नुपर्नेछ। सो कोषमा जम्मा भएको रकममध्ये कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्नुपर्ने प्रावधान गरिएको छ। साथै, बैंकले वार्षिक कार्ययोजना बनाउनुपर्ने र अर्धवार्षिक गतिविधिहरूको विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ।

सीएसआर कोष शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, वातावरण संरक्षण, वित्तीय साक्षरता र अन्य सामाजिक क्षेत्रमा खर्च गर्न सकिने व्यवस्था गरिएको छ। यसअन्तर्गत विद्यालय पुनःनिर्माण, छात्रवृत्ति, स्वास्थ्य उपकरण वितरण, अपाङ्गता भएका व्यक्तिलाई सहयोग, प्राकृतिक प्रकोपपीडितलाई राहत, वातावरणमैत्री कार्यक्रम, वित्तीय साक्षरता अभिवृद्धि तथा सीपमूलक तालिममार्फत आयआर्जन क्षमता वृद्धि गर्ने काममा खर्च गर्न सकिनेछ।