गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरी कायम हुने सर्वोच्चको फैसला


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र १६ २०८२
1.7K
SHARES

१६ भदौ काठमाडौं । सर्वोच्च अदालतले गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरी कायम हुने फैसला गरेको छ ।तत्कालीन कार्यपालिकाको निर्णय र त्यसलाई सदर गर्ने गण्डकी प्रदेश सरकारको निर्णयविरुद्ध चुडामणि पोखरेलसहितले ०७७ साल असोज २६ मा सर्वोच्चमा रिट दायर गरेका थिए । आइतबार सर्वोच्चका न्यायाधीशहरू विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासले रिट खारेज गर्दै गाउँपालिकाको केन्द्र चित्रेपोखरी नै कायम हुने आदेश गरेको हो । आदेशसँगै अब गाउँपालिकाको केन्द्रका लागि स्थायी संरचना बनाएर अघि बढ्ने बाटो खुलेको गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए ।

स्थानीय सरकार गठन हुनुअघि स्थानीय तह निर्धारण आयोगले सीमा निर्धारण गरिसकेपछि संघीय सरकारले सिरानचोक गाउँपालिकाको केन्द्र छप्राक तोकेको थियो । तर, गाउँपालिका निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूले गाउँसभामा गाउँपालिकाको केन्द्र सार्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मत नभएपछि गाउँसभामा ०७७ असार ३१ गते मतदान भएको थियो ।

मतदानमा दुईतिहाइ बहुमतबाट गाउँपालिकाको केन्द्र चित्रेपोखरी सार्ने निर्णय सदर भएपछि केन्द्र चित्रेपोखरी कायम गरिएको थियो । उक्त निर्णय प्रदेश सरकारले ०७७ साउन २३ मा स्वीकृत गरेको थियो । संघीय सरकारअन्तर्गत ‍०७७ असोज ४ गते स्वीकृत गरेर २४ गते मन्त्रिपरिषद्‌मा पेस गरिएको थियो ।

गाउँसभाको निर्णय र प्रदेश र संघीय सरकारको स्वीकृतिविरुद्ध पोखरेलसहित नौ जनाले निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट दायर गरेका थिए । पाँच वर्षमा यही भदौ १५ गते आइतबार भएको फैसलाले गाउँसभाको निर्णयलाई स्वीकृति दिँदै रिट खारेज गरिदिएको हो ।तत्कालीन गाउँपालिका अध्यक्ष राजु गुरुङले सर्वोच्च अदालतको फैसला आएसँगै ‘जनताको मतको पक्षमा’ भन्दै फैसलाको स्वागत गरेका छन् ।