एमालेले बोलायो सचिवालय बैठक


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १७ २०८२
1.2K
SHARES

१७ भदौ काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बिहीबार दिउँसो ३ बजे बस्ने केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। प्रधानमन्त्री केपी ओली चीन भ्रमणबाट फर्केको भोलिपल्टै बस्नेगरी बैठक आह्वान भएको हो। प्रधानमन्त्री ओली बुधबार पाँच दिने चीन भ्रमण टुङ्ग्याएर स्वदेश फर्किँदै छन्।

बैठकमा भदौ २० गतेदेखि सुरु हुने विधान महाधिवेशन र महाधिवेशनमा पेस हुने दस्तावेजबारे छलफल हुने उनले बताए।महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्ने तय भएको छ। अहिले एमालेले विधान संशोधनका लागि तल्लो तहबाट सुझाव सङ्कलन गरिरहेको छ।

यसअघि एमालेले भदौ १३ गते केन्द्रीय कमिटी बैठक बोलाइएको थियो। तर पूर्वराष्ट्रपति विद्या भण्डारीलाई रोक्ने निर्णयले पार्टीभित्र विवाद उठ्ने देखिएपछि बैठक रोकिएको थियो। भण्डारीको पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत पेस गर्दैछन्।यसअघि बसेको केन्द्रीय कमिटीको बैठकमा आफूहरूले राखेको फरक मत अपानिमा नसमेटिएको भन्दै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले छलफलको लागि निवेदन नै दिइसकेका छन्।

हिजो एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले भण्डारीको सदस्यता नवीकरण नभएसम्म बहस पार्टीमा चलिराख्ने भन्दै विधान महाधिवेशनमा समेत फरक मत राख्ने बताएका थिए।त्यसबारे प्रचार विभाग प्रमुख गौतमले भने, ‘अहिलेसम्म पार्टीमा कुनै फरक मत दर्ता भएको छैन। बाहिर बाहिर सुनेका हौँ। अब राख्ने नै भए उहाँहरूले सचिवालय बैठकमा राख्नुहोला। त्यहाँ छलफल होला पनि।’