एक्सका कर्मचारीले मेल गरेका छन्, जवाफ पनि दिइसकेँ – सञ्चार मन्त्रालयका प्रवक्ता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २० २०८२
1.6K
SHARES

२० भदौ काठमाडौं । प्रतिबन्धको सामना गर्नुपरेपछि एक्स (पहिलेको ट्विटर)ले सूचीकरणका लागि चासो देखाएको सरकारका अधिकारीहरूले बताएका छन् ।  कुराकानीका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले एक्सका कर्मचारीले सूचीकरणका लागि आवश्यक प्रक्रियाबारे चासो देखाएको जानकारी दिए ।“एक्सका कर्मचारीले कार्यालयलाई औपचारिक इमेल गरेका छन् । मैले त्यसको प्रतिक्रिया पनि दिइसकेको छु,” उनले भने, “एक्सको सिंगापुर कार्यालयबाट इमेल आएको हो ।”

यसअघि, बिहीबार नै मेटाले पनि सूचीकरणका लागि आवश्यक प्रक्रियाबारे बुझेको भनिएको थियो । तर, मेटाले औपाचरिकरूपमा पत्राचार गरेको पुष्टि भइसकेको छैन ।प्रवक्ता ठाकुरका अनुसार, आफूलाई एक्सको कर्मचारी बताउने मार्क नामबाट मन्त्रालयलाई इमेल गरिएको छ । “मार्क भनेर छ । इमेलमा उसको सम्पूर्ण जानकारी हुँदैन नि त,” उनले भने ।

सरकारले विभिन्न चरणमा सामाजिक सञ्जालहरूलाई प्राधिकरणमा सूचीकरण हुन आउन सूचना जारी गरिरहेको थियो । तर, आधिकारिकरूपमा नेपाल सरकारले सामाजिक सञ्जालका कार्यालयलाई पत्र भने पठाएको छैन । विभिन्न चरणमा सूचना जारी गर्दै समय थप गर्दै आएको सरकारलेपछिल्लो पटक भने निष्क्रिय नै गर्ने निर्णय गरेको छ ।

यी सामाजिक सञ्जाल आधिकारिकरूपमा सूचीकरण हुनलाई मन्त्रालयसँग समन्वय गरे सक्रिय गरिने ठाकुर बताउँछन् । “हामीले सूचीकरण हुन आउनलाई आधिकारिक पत्र त पठाएका छैनौँ । दुई वर्षदेखि सूचना पटकपटक जारी गर्दै आएका छौँ । अनुरोध गर्ने त कुरै आउँदैन,” प्रवक्ता ठाकुरले भने, “सरकारले नै सूचना निकालेपछि उनीहरूले नै चासो देखाउनुपर्छ । नत्र बन्द हुन्छ । यहाँ सञ्चालन गर्दा ती कम्पनीका सम्पर्क व्यक्ति यहाँ पनि छन् । उनीहरूलाई नेपालको विषयमा थाहा हुन्छ ।”निष्क्रिय गर्न लागिएका सामाजिक सञ्जालले इमेलमार्फत मन्त्रालयमा आधिकारिक कागजात पठाए सूचीकरण प्रक्रिया थालिने उनी बताउँछन् । तर, दर्ताका लागि छुट्टै अनलाइन प्रणाली बनाइएको छैन ।