एमालेले जबज छोड्यो भनेर अनर्गल प्रचार नगरौँ – महासचिव पोखरेल
२२ भदौ काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताएका छन् । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी नेताहरूले संगठनात्मक प्रस्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले एमालेले जबज छोड्यो भनेर अनर्गल प्रचार नगर्न चेतावनीसमेत दिए । केही मिडियाले एमालेले जबज छोड्यो भन्ने खालको प्रचार गरेको भन्दै उनले त्यस्तो अनर्गल प्रचार गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
महासचिव पोखरेलले जबजलाई अघि बढाउने सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर अगुवाइ गर्दै आएको दाबी पनि गरेको गौतमले बताए ।”पार्टी दृष्टिकोणमा अन्योल भएर प्रचार गरिएकोमा उहाँले यस्तो काम नगर्न, सो सम्बन्धी अनर्गल प्रचार नगर्न, पत्रकार साथीहरूलाई अमुक, अमुक व्यक्तिको प्रवक्ता नबन्नका निम्ति पनि उहाँले आग्रह गर्नुभएको छ । त्यसपछि जबज छोड्यो, जबज छोड्यो भनेर भन्नु भयो । हाम्रा सबै डकुमेन्टहरूमा जबजको मार्गदर्शनमा हामी मार्ग निर्देशित भएर अगाडि बढिरहेका छौँ,” प्रचार विभाग प्रमुख गौतमले भने ।
गौतमका अनुसार, महासचिव पोखरेलले मदन भण्डारीको अगुवाइमा पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको जबजबाट नै एमाले निर्देशित रहेको पटक पटक दोहोर्याएका थिए ।