दसैँतिहारलक्षित सहुलियत पसल ल्याइयो सञ्चालनमा
३० भदौ काठमाडौं । सरकारले यो वर्षको दसैँतिहारलक्षित सहुलियत पसल सोमबार (भदौ ३०)देखि सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकाका चार र देशभरका १११ बिक्री केन्द्रबाट सहुलियत पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री वितरण विभागका प्रबन्धक भीम थापाले बताए ।“हामीले सर्वसाधारणलाई सहज होस् भनेर दसैँलक्षित सहुलियत पसल आजबाट सञ्चालनमा ल्याएका छौँ,” उनले भने, “काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नक्खु र दक्षिणकालीबाट आजबाट सहुलियत पसल सुरु गरेका हौँ ।”
ललितपुरको गोदावारी र भक्तपुरको चाँगुनारायणमा पनि एक/दुई दिनमा सहुलियत पसल सञ्चालन गरिने उनले बताए । सहुलियत पसलमा हरेक सामानमा प्रतिकेजी पाँचदेखि १० रुपैयाँसम्म छुट पाइने उनले जानकारी दिए ।सहुलियत पसलमा चामल, दाल, गेडागुडी, चिनी, नुन, मसलालगायत सामान खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।