खेलाडीहरूमा प्रशिक्षक परिवर्तन गर्नुपर्ने भावना छैन – एमोरिम


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १९ २०८२
1.1K
SHARES

१९ असोज काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबिन एमोरिमले खेलाडीहरू आफूप्रति सकारात्मक रहेको दाबी गरेका छन् ।शनिबार म्यानचेस्टरले सन्डरल्यान्डविरुद्ध २–० को कठिन जित निकालेको थियो । यही खेलमा दबाबकाबीच राम्रो नतिजा निकालेको जनाउँदै एमोरिमले खेलाडीहरू आफूप्रति सकारात्मक रहेको बताएका हुन् ।

“मलाई खेलाडीहरूले आफ्नो शतप्रतिशत दिइरहेका छन् भन्ने कुरा थाहा थियो । उनीहरूले यो कुरा मैदानमा पनि देखाए । यसले खेलाडीहरूमा मलाई परिवर्तन गर्नुपर्छ भन्ने भावना नरहेको पुष्टि गर्छ,” एमोरिमले भने ।

पछिल्लो समय खराब लयका कारण एमोरिमको चर्को आलोचना भइरहेको छ । उनी गत नोभेम्बरदेखि जिम्मेवारीमा आएका थिए । युनाइटेडले उनको प्रशिक्षणमा ३३ खेल खेल्दा नौ खेलमा मात्र जित हासिल गरेको छ । अघिल्लो सिजनको एमोरिमको नेतृत्वमा युनाइटेडले आठौँ स्थानमा रही लिग टुंग्याएको थियो ।