भैरहवा उड्यो निगमको विमान
२० असोज काठमाडौं । भैरहवामा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौं ल्याउन भनेर नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ ।काठमाडौंबाट ८३ यात्रु लिएर ‘आरए १७३१’ उडान नम्बरको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थतर्फ गएको हो । त्यहाँबाट १५१ यात्रु लिएर काठमाडौं आउनेछ । यद्यपि, यात्रु संख्या केही तलमाथि हुन सक्ने निगमले जनाएको छ ।
निगमले सोमबार (असोज २०) दिउँसो २ः४५ बजे काठमाडौं उडानको तालिका बनाएको थियो । तर, निर्धारित समयभन्दा ढिलो उडेकाले समय लाग्ने जनाइएको छ ।प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा निगमको विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुलाई काठमाडौं ल्याउन लागिएको हो ।
वायुसेवा निगमले देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिमा सरकारको विशेष निर्देशनबमोजिम आज एक उद्धार उडान गरिएको जनाएको छ ।
उक्त उडानमा काठमाडौंबाट पाँच हजार र भैरहवाबाट सात हजार रुपैयाँ भाडादर तोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाले आज मौसम अनुकूल रहेकाले नियमित रूपमा उडान सञ्चालन भइरहेको जानकारी दिए ।उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने निगमले स्पष्ट गरेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, भैरहवामा उल्लेख्य संख्याका यात्रु उडानको प्रतीक्षामा छन् । “विमानस्थलमा धेरै यात्रु छन् । विमानको सिट सीमित छ । केही एयरलाइन्सले उडान थपे पनि यात्रुको चाप अत्यधिक छ । उडान थपेर यात्रुलाई गन्तव्यमा पुर्याउन विमानस्थल लागिपरेको छ,” महाप्रबन्धक तिवारीले भने ।