डिजिटल भुक्तानी गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि
७ कात्तिक काठमाडौं । पछिल्लो समय नगदरहित कारोबारको दायरा तीव्र गतिमा विस्तार भइरहेको छ । दैनिक उपभोग्य वस्तु किनमेलदेखि लाखौँ रुपैयाँसम्मका आर्थिक लेनदेन अहिले डिजिटल माध्यममार्फत हुने क्रम बढेको छ । अधिकांश नेपालीहरू खल्तीमा नगद होइन, स्मार्टफोन बोक्दै डिजिटल भुक्तानी गर्न अभ्यस्त बन्दै गएका छन् ।नेपाल राष्ट्र बैंकको पछिल्लो एक वर्षको तथ्यांक हेर्ने हो भने पनि डिजिटल कारोबार गर्ने लाखौँ प्रयोगकर्ता थपिँदै गएको देखिन्छ । चालू आवको भदौसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड ८२ लाख नाघेको छ । यस अवधिसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ८२ लाख ४० हजार १०६ जना पुगेका हुन् । जबकि यस्तो सङ्ख्या २०८१ भदौसम्म २ करोड ५२ लाख ७ हजार १२२ थियो ।
वालेट प्रयोगकर्ताहरूको सङ्ख्या पनि उल्लेख्य बढेको छ । नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक वर्षमै ४ लाख भन्दा बढी थपिएको छ । २०८१ को भदौदेखि २०८१ को भदौसम्म आइपुग्दा ४ लाख २० हजार जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् ।२०८१ को भदौसम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड ४२ लाख ६४ हजार थियो । उक्त सङ्ख्या २०८२ को भदौसम्म आइपुग्दा दुई करोड ४६ लाख ८४ हजार पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
चालू आवको भदौसम्म आइपुग्दा डेबिट कार्ड प्रयोगकर्ताको सङ्ख्या एक करोड ३७ लाख लाख ६३ हजार पुगेको छ भने क्रेडिट कार्ड प्रयोगकर्ताको सङ्ख्या ३ लाख २१ हजार पुगेको छ । यसका साथै प्रिपेड कार्ड प्रयोगकर्ताको सङ्ख्या २ लाख ५७ हजार पुगेको छ ।त्यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २२ लाख ७८ हजार पुगेको छ । ४ लाख ३९ हजार पीएसपी एजेन्टहरू रहेका छन् ।
कनेक्ट आईपीएस प्रयोगकर्ताहरूको सङ्ख्या पनि उल्लेख्य वृद्धि भएको छ । २०८१ को भदौ मसान्तसम्म १३ लाख १५ हजार जना कनेक्ट आईपीएस प्रयोगकर्ता रहेकोमा उक्त सङ्ख्या २०८२ को भदौसम्म आइपुग्दा १४ लाख ७२ हजार पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।