अब मार्क्सवाद–लेनिनवादले हुँदैन – पूर्वप्रधानमन्त्री भट्टराई
२० कात्तिक काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधानलाई सही कार्यान्वयन गर्न वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औँल्याएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले शासकीय स्वरूप, संघीयतालगायत विषय कार्यान्वयनका लागि वैकल्पिक राजनीतिक शक्तिको खाँचो रहेको बताएका हुन् । उनले यसका लागि विचार मिल्ने राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्न जेनजी अभियन्ताहरूलाई सुझाव दिए ।
“संविधानलाई अझ राम्रो बनाउनुपर्छ । मैले त संविधानलाई आधा गाग्री पानी भन्दै आएको छु, अब त्यो पूरा गर्नुपर्छ । यसका लागि पुराना मार्क्सवाद, लेनिनवाद, समाजवादले हुँदैन । नयाँ विचार र सिद्धान्त अवलम्बन गर्ने वैकल्पिक राजनीतिक शक्ति चाहिन्छ,” उनले भने ।आफूले अघि सार्दै आएको माग पूरा गराउन जेनजी विद्रोहले तागत थपिएको उनको भनाइ छ ।
उनले सरकारले जेनजीप्रति जवाफदेही भएर काम गर्नुपर्ने पनि बताए । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन गराउन मताधिकारको व्यवस्था १६ वर्षको बनाउनुपर्नेमा उनले जोड दिए । अहिलेको सरकार बनाएजस्तै अध्यादेशलाई टेकेर उक्त व्यवस्था गर्न सकिने उनको भनाइ छ ।
उनले निर्वाचन गराउने विषयमा सरकारसँग लिखित सम्झौता गर्न सुझाव दिए । अहिले जेनजीका केही अभियन्ताले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गरेको भन्दै भट्टराईले उक्त विषय पेचिलो रहेकोसमेत बताए । उनले कतिपय विषयमा अन्धभक्त भएर नलागी चेतका साथ अघि बढ्न जेनजी समूहलाई आग्रह गरे ।