काठमान्डु गोर्खाजमा सन्नी पटेल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०८२
1.6K
SHARES

२१ कात्तिक काठमाडौं । अलराउन्डर सन्नी पटेललाई काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति अनुबन्ध गरेको छ । योसँगै ‘काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रा.लि.’को स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले अधिकतम ६ विदेशी खेलाडीको कोटा पनि पूरा गरेको छ ।

काठमान्डुले यसअघि नै इङ्गल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान गेर्हार्ड इरास्मस, अमेरिकी ब्याटर मिलिन्द कुमार, इङ्गल्यान्डका बेन चार्ल्सवर्थ र जोहन सिम्पसनलाई आउँदो सिजनको एनपीएलका लागि अनुबन्धन गरिसकेको छ । इरास्मसबाहेक अन्य सबैले पहिलोपटक गोर्खाजको जर्सी लगाएर खेल्न लागेका हुन् ।

पटेल भने नेपालको फ्रेन्चाइज क्रिकेटमा परिचित छन् । उनले २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेका थिए ।भारतको गुजरातबाट रणजी ट्रफी खेलेका ३८ वर्षे पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् ।

“मैले उनको खेल प्रत्यक्ष हेर्दै आएको छु, उनले आफ्नो खेलमा उत्साह, संयमता र परिपक्वता ल्याएका छन्,” काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देशाईले भने, “उनी बल र ब्याट दुवैमा उच्च योगदान दिन सक्छन् । मेजर लिग क्रिकेटमा खेलेको उनको अनुभव गोर्खाजका लागि अमूल्य बन्न सक्छ । गोर्खाज परिवारमा उनलाई समावेश गर्न पाउँदा हामी उत्साहित  छौँ ।”

सन्नीले जुन–जुलाईमा भएको अमेरिकाको मेजर लिग क्रिकेटमा एमआई न्यु योर्कको प्रतिनिधित्व गरेका थिए । सोक्रममा उनले ६ खेल खेलेका थिए ।