त्रिवि क्रिकेट मैदानको फ्लडलाइट जडान अन्तिम चरणमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०८२
1.4K
SHARES

२५ कात्तिक काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण फ्लडलाइटमा हुने भएको छ । एनपीएलको खेल तालिका सार्वजनिक भएसँगै फ्लडलाइटमा खेल सञ्चालन हुने तय भएको हो ।सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले तालिका सार्वजनिक गरेको थियो । तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्टस् र काठमान्डु गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् ।

खेल आगामी मंसिर १ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४:०० बजे सुरु हुनेछ ।प्रतियोगितामा पहिले संस्करणकै आठ टिमले सहभागिता रहेको छ ।

फ्लडलाइट जडान अन्तिम चरणमा

हाल त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान कार्य जारी छ । फ्लडलाइट जडानका प्रोजेक्ट म्यानेजर सौरभ साहका अनुसार फ्लडलाइटमा एनपीएल सञ्चालन गर्ने लक्ष्यअनुसार नै निर्माण कार्य भइरहेको छ । फ्लडलाइट जडान कार्य अन्तिम चरणमा पुगिसकेको उनले बताए ।

“हाम्रो मुख्य लक्ष्य भनेको एनपीएल फ्लडलाइटमा सञ्चालन गर्ने हो । त्यहीअनुसार दैनिक तीव्र गतिमा निर्माण कार्यलाई अघि बढाइरहेका छौँ,” साहले भने, “अधिकांश कार्य सम्पन्न भइसकेको छ । भौतिक प्रगति ९० प्रतिशतभन्दा माथि छ । आगामी बुधबार वा बिहीबारसम्म सबै पोलमा लाइट जडान भइसक्ने छ ।”

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ०८१ असार ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने निर्णय गरेको थियो । त्यसको सात महिनापछि फ्लडलाइट र प्यारापिटको काम थालिएको थियो । प्यारापिटका निम्ति ठेकेदार कम्पनी र मन्त्रालयबीच ४३ करोड ७७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । १० हजार प्यारापिटको काम भने सम्पन्न भइसकेको छ ।

यस्तै, फ्लडलाइट निर्माणका निम्ति ०८१ फागुन २२ मा सहरी विकास मन्त्रालयले विशन ईश्वरी जेभीसँग सम्झौता गरेको थियो । फ्लडलाइटको ठेक्का रकम ४२ करोड १८ लाख रुपैयाँ हो ।साहका अनुसार जडान भइसकेपछि सबै फ्लडलाइटको अन्तिम परीक्षण हुनेछ । अहिले भने हालसम्म जडान भइसकेका फ्लडलाइटहरूको परीक्षण भइरहेको छ ।

“परिक्षण प्राविधिक पाटो भएकोले धेरै प्रकृया छन् । मैदानमा अहिले पोजिसन टेस्टिङ भइरहेको छ । सबै पोलमा फ्लडलाइट अन्तिम टेस्टिङ गर्नेछौँ । निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ,” साह भन्छन् ।फ्लडलाइटमा कुल ४२० वटा लाइट जडान हुनेछ । अहिलेसम्म ३५० भन्दा धेरै लाइटहरू जडान भइसकेको छ । बाँकी १७० वटा लाइट यही सातासम्म जडान भइसक्ने साहको दाबी छ।