२३ गतेको घटनामा तत्कालीन सरकार दोषी – उपाध्यक्ष पाण्डे


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०८२
1.3K
SHARES

२६ कात्तिक चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन-जी आन्दोलनको क्रममा २३ गतेको घटनाको दोषी तत्कालीन सरकार रहेको बताएका छन् ।चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले तत्कालीन सरकारका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘गोली कसले चलाएको थाहा छैन’ भन्नु गलत रहेको जिकिर गरे ।‘धरहरा कसले बनायो भन्दा तत्कालीन सरकारले बनाएको भन्ने तर, गोली कसले चलायो भन्दा थाहा छैन भन्नु गलत हो । २३ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ’, पाण्डेको माग छ ।उनले पहिलो दिनको घटनामा सरकार दोषी भएजत्तिकै २४ गतेको घटना पनि अक्षम्य रहेको बताएका छन् । देशमा कानूनी शासन स्थापित गर्न पनि दुवै दिनका घटनाका दोषीले उन्मुक्ति पाउनु नहुने पाण्डेको भनाइ छ ।

उपाध्यक्ष पाण्डेले नेकपा एमाले सरकारमा भएको कारण भएको घटना भएकोले पनि छानबिनमा सघाएर यो घटनाको दागबाट मुक्त भएर नबसे माओवादीका नेता कार्यकर्ता जस्तै कहिले समातिइन्छ भन्ने त्रासमा बस्नुपर्ने बताए ।जेन-जी आन्दोलन एमालेको भलीभाँति कमजोरीको उपज भएको दाबी गरेका छन् । पार्टी र सरकारका संयन्त्रलाई यति ठूलो आन्दोलन र विध्वंसको सूचना नहुनु ठूलो कमजोरी भएको उनको भनाइ छ ।

अर्को प्रसङ्गमा उपाध्यक्ष पाण्डेले टेको लाउने शक्ति नै नभएको अहिलेको सरकारले चुनाव गराउन सक्नेमा शंका व्यक्त गरेका छन् । चुनावको लागि प्राविधिक, राजनीतिक र मनोवैज्ञानिक तयारी नै नगरेको उनको टिप्पणी छ । पाण्डेले दलहरू चुनावको लागि सकारात्मक भएपनि दलका नेतासँगको संवादमा सरकारको उदासिनता देखिएको बताए ।

‘फागुन २१ मा चुनाव गराउन निकै कठिन छ, चुनावको मनोविज्ञान बनेको छैन । प्राविधिक तयारी नै सरकारको पुग्दैन । तर, चुनाव नभएको अवस्थामा देश अझ अन्यौलतामा जान्छ’, उनले सुनाए ।एमालेको आसन्न महाधिवेशनका बारेमा भने उनले नेतृत्वको लागि निर्वाचन हुने दाबी गरेका छन् । आठौँ महाधिवेशनबाट प्रतिस्पर्धाको राजनीति थालेको सम्झिँदै उनले भने, – ‘हाम्रो महाधिवेशनमा प्रतिनिधि बराबर हुन् । प्रतिस्पर्धा कसैले रोक्न सक्दैन । प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुन्छ ।’