नेपाली कम्युनिस्ट पार्टीमा जिम्मेवारी बाँडफाँटको तयारी
२ मंसिर काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीमा जिम्मेवारी बाँडफाँटको तयारी गरिएको छ । त्यसनिम्ति आज (मंसिर २) अनौपचारिक बैठक बस्न लागेको नेताहरूले बताएका छन् ।संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत नेता छलफलमा जुट्न लागेका हुन् । अनौपचारिक बैठक दिउँसो २ बजे पेरिसडाँडामा बस्ने नेता प्रकाश ज्वालाले जानकारी दिए ।
बैठकमा सहभागी हुने अरू नेताहरूका बारेमा भने उनले अनभिज्ञता प्रकट गरे । “संयोजक, सहसंयोजकले आवश्यक परेका नेता बोलाउनुहुन्छ,” उनले भने । संयोजक प्रचण्डले सोमबार (मंसिर १) जिम्मेवारी बाँडफाँटको विषय ‘भोलि (आज) टुंग्याइने’ बताएका थिए ।
तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत १०/११ दल/समूह एक भएर नेपाली कम्युनिस्ट पार्टी बनाइएको हो । पार्टीमा संयोजक र सहसंयोजकबाहेकको जिम्मेवारी बाँडफाँट बाँकी छ ।