नेतृत्वकर्ताले छोडेपछि हामीले लियौँ – विप्लव


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २ २०८२
3.2K
SHARES

२ मंसिर काठमाडौं । नेकपा (माओवादी) छोडेर पार्टी बनाएका नेत्रविक्रम चन्द ‘विप्लव’को नेपाल कम्युनिस्ट पार्टीले माओवाद फर्काएको छ । यसअघि अर्धभूमिगत हुँदै खुला राजनीतिमा आएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माओवाद छोडेको थियो ।उसले नेपाल कम्युनिस्ट पार्टी अर्थात् (नेकपा) मात्र लेख्ने गरेको थियो । तर, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सहितको एकतापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नामाकरण गरी माक्र्सवाद, लेनिनवादलाई पार्टीको मार्गदर्शनक सिद्धान्त स्वीकार गर्दै माओवाद परित्याग गरेको थियो ।

“नेपालमा माओवादी आन्दोलनको नेतृत्वकर्ता प्रचण्डले नै माओवाद छोडेपछि हामीले लिएका हौँ,” नेकपा (माओवादी)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले  भने, “हामीले माओवादी सिद्धान्त छोडेको थिएनौँ, आदर्श पनि बचाउँदै उत्पादन बिग्रेड सञ्चालन गर्दै कृषि क्रान्तिमा हात हालेको थियौँ । नेतृत्वकर्ताले माओवाद छोडेपछि पुनः हामीले लियौँ ।”

उनले कम्युनिस्ट पार्टीको चुनाव चिह्न गुलाफ हुँदा प्रश्न उठेको विषयमा पनि स्पष्टीकरण दिए । क्रान्तिकारीको हातमा समयअनुसार जुनसुकै कुरा हुने भन्दै अहिलेको चुनाव चिह्न गुलाफ पनि सामयिक भएको बताए । “क्रान्तिकारीको हातमा कहिले बन्दुक र बम हुन्छ, कहिले हसियार हथौडा र कोदालो हुन्छ, अहिले गुलाफ हुँदा पनि प्रश्न उठाउनुपर्ने कारण छैन,” प्रकाण्डले भने, “हामी आम जनताको माया मिसिएको भोट माग्न जाँदैछौँ । यस्तो बेला गुलाफ चुनाव चिह्न सामयिक र उपयुक्त हो ।”