सवा ८ खर्ब राष्ट्र बैंकमा थन्कियो
३ मंसिर काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्न नसकेको करिब सवा ८ खर्ब रुपैयाँ राष्ट्र बैंकमा जम्मा रहेको छ । बैंकहरुले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा एसडीएफमा राखेको उक्त रकम केन्द्रीय बैंकमा रहेको छ । रेमिट्यान्स उच्च दरले बढिरहेको तर कर्जा प्रवाह बढ्न नसकेकाले बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम थुप्रिएको हो । लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ । चालु आर्थिक वर्षको पहिलो चौमास सकिँदासम्म बैंक तथा वित्तीय संस्थामा सवा ११ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । साढे दुई वर्षअघिदेखि बैंकहरुमा तरलता थुप्रिँदै आएको छ ।
बैंकहरुले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा एसडीएफ राखेको ८ खर्ब २० अर्ब २५ करोड राष्ट्र बैंकमा रहेको छ । बैंकहरुले निक्षेप संकलन उपकरणमा राखेको ३ खर्ब ६ अर्ब ४० करोड परिपक्क हुन बाँकी छ । यस्तै स्थायी निक्षेप सुविधा (एसडीएफ) मा रहेको ५ खर्ब १३ अर्ब ८५ करोड छ । जुन बुधबार परिपक्क हुँदैछ । मंसिर ३ गते बुधबारसम्म बैंकहरुले लगानी गर्न नसकेको ८ खर्ब २० अर्ब ३५ करोड रुपैयाँ राष्ट्र बैंकले जारी गर्ने अल्पकालिन उपकरणमा लगानी गरेका छन् । राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि ८४ दिनका लागि थप ५० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गर्ने छ । यसअघि केन्द्रीय बैंकले गत आइतबार ५० अर्ब रुपैयाँ बराबरको ८४ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो ।उक्त निक्षेप संकलन उपकरणमा १९ बैंक तथा वित्तीय संस्थाले ७२ अर्ब ५० करोड जम्मा गर्न चाहेकोमा राष्ट्र बैंकले मागेजति मात्र लिएको थियो । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो । कात्तिक महिनामा मात्रै केन्द्रीय बैंकले ८ पटक यस्तो उपकरण जारी गरिसकेको छ । मंसिर महिना लागेपछि पहिलो पटक यस्तो उपकरण जारी गरेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति माघ २८ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । बजारमा लगातार तरलता बढेपछि राष्ट्र बैंकले पनि नियमित रूपमा बजारबाट पैसा झिकिरहेको छ । अघिल्ला महिनामा छोटो समय (७, १७, २१ दिन) का लागि बजारबाट पैसा झिक्दै आएको राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधि (१७५ दिन, ८४ दिन) का लागि पैसा झिक्दै आएको छ । राष्ट्र बैंकले लामो समयका लागि पैसा झिक्नुलाई अझै केही समय तरलता नघट्ने संकेतका रूपमा बुझ्न सकिन्छ ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकले साढे १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य तय गरेको छ । चालु आर्थिक वर्ष राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य तय गरेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा यो आर्थिक वर्षमा कर्जा प्रवाह १.५ प्रतिशतले मात्र बढेको छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३ प्रतिशतले बढेको छ । न्यून बजार मागका कारण आर्थिक गतिविधि चलायमान बन्न नसकिरहेका बेला उच्च दरले बढिरहेको रेमिट्यान्सका कारण बैंकमा धेरै पैसा थुप्रिएको हो ।पछिल्लो एक वर्ष यता वित्तीय प्रणालीमा साढे ६ खर्ब लगानीयोग्य रकम रहदै आएको छ । पछिल्लो समयमा रेमिट्यान्समा आएको सुधारले पनि बैंकिङ प्रणालीको निक्षेप बढ्दै गएको हो ।
हाल बैंकिङ प्रणालीमा ७५ खर्ब २ अर्ब रुपैयाँ निक्षेप रहेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको निक्षेप ६७ खर्ब ४७ अर्ब पुगेको छ। अन्य वित्तीय संस्थाहरुको निक्षेप ७ खर्ब ५५ अर्ब रहेको छ । यस अवधिमसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब ३९ अर्ब कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुको कर्जा ५० खर्ब १७ अर्ब पुगेको छ । अन्य संस्थाहरुले ६ खर्ब २२ अर्ब कर्जा परिचालन गरेका छन्।राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७४.३१ प्रतिशत कायम भएको देखाएको छ। बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ। यसलाई हेर्दा बैंकहरुसँग ११ खर्ब १२ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ।