एमालेले गर्यो दल दर्ता
९ मंसिर काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले पनि दल दर्ताको निवेदन पेस गरेको छ। आज मंगलबार निर्वाचन आयोग पुगेर एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र कार्यालय सचिव डा भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन्। यसअघि सोमबार राष्ट्रिय निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएको थियो।
संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट लिएर पुगेको एमालेले यता भने निर्वाचनमा भाग लिन दल दर्ताको निवेदन दिएको हो। आचार्यका अनुसार समग्र दल दर्ता क्रमांक ६६औँ रहेको छ। ‘राष्ट्रिय सभाको निर्वाचनका लागि हाम्रो दर्ता नम्बर ९३९ प्राप्त भएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि भने ९७१ नम्बरमा दर्ता भएका छौँ। समग्र दल दर्ता क्रमांक ६६औँ रहेको छ,’ आचार्यले भने।