३६ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०८२
950
SHARES

९ मंसिर काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले ३६ अर्ब रुपियाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको छ। उद्योग विभागका अनुसार कात्तिक मसान्तसम्म कुल ३८२ नयाँ परियोजना दर्ता भएका छन्, जुन संख्या र लगानी रकम दुवै हिसाबले गत वर्षको त्यही अवधिको तुलनामा दोब्बरभन्दा बढी वृद्धि हो।

सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा केन्द्रित देखिएका छन्। यस समूहमा २०५ उद्योग दर्ता भए पनि कुल लगानी रकम ८७ करोड ४३ लाख रुपियाँमा सीमित छ, जसले ठूलो संख्याका साना तथा प्रारम्भिक स्तरका लगानीकर्ता आकर्षित भएको संकेत गर्छ। लगानी रकमका आधारमा भने कृषि तथा वन–आधारित उद्योग अग्रस्थानमा छन्। विभागका अनुसार यो समूहअन्तर्गतका १३ उद्योगका लागि मात्रै २१ अर्ब ८८ करोड रुपियाँ बराबरको एफडीआई स्वीकृत भएको छ, जुन कुल स्वीकृत लगानीको सबैभन्दा ठूलो हिस्सा हो।

पर्यटन क्षेत्रमा पनि उल्लेख्य सक्रियता देखिएको विभागको तथ्याङ्कले जनाउँछ। यस अवधिमा ११८ पर्यटन उद्योगका लागि ८ अर्ब ९४ करोड रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। त्यसैगरी सेवा क्षेत्रअन्तर्गत २३ उद्योगमा ३ अर्ब ९ करोड, उत्पादनमूलक क्षेत्रका २१ उद्योगमा १ अर्ब ६५ करोड, पूर्वाधार क्षेत्रमा ८ अर्ब ७४ करोड, ऊर्जा क्षेत्रमा १८ करोड र खानी क्षेत्रमा करिब ४५ लाख रुपियाँ बराबरको एफडीआई स्वीकृत भएको छ।कात्तिक महिनामा मात्रै ७१ नयाँ उद्योग दर्ता भएका छन्। सो महिनामा प्राप्त वैदेशिक लगानी प्रतिबद्धता १ अर्ब ५४ करोड ३९ लाख रुपियाँ रहेको उद्योग विभागले जनाएको छ।