नेपाली कम्युनिष्ट पार्टीको देशव्यापी पार्टी एकता सन्देशसभा सुरु
१२ मंसिर काठमाडौं । एकता राष्ट्रिय सम्मेलन सम्पन्न गरेको नेपाली कम्युनिष्ट पार्टीको आजदेखि देशव्यापी पार्टी एकता सन्देशसभा सुरु भएको छ । प्रदेशस्तरीय एकता सन्देशसभा गर्ने उक्त पार्टीको पूर्वनिर्धारित कार्यतालिका अनुसार सुदूरपश्चिम प्रदेशको धनगढीमा आज सभा आयोजना गरिएको छ । उक्त पार्टीका नेता अग्निप्रसाद खरेलका अनुसार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा मंसिर १३ गते, गण्डकी प्रदेशको पोखरामा मंसिर १४ गते एकता सन्देशसभा आयोजना गर्ने जानकारी दिए ।
कोसी प्रदेशको विराटनगरमा मंसिर १५ गते, उपत्यका विशेष प्रदेश (काठमाडौं)मा मंसिर १७ गते, कर्णाली प्रदेशको सुर्खेतमा मंसिर १८ गते, संघीय सम्पर्क समन्वय प्रदेश (काठमाडौं)मा मंसिर १९ गते, मधेस प्रदेशको जनकपुरमा मंसिर २० गते, प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम मंसिर २१ गते, वाग्मती प्रदेशको हेटौंडामा मंसिर २३ गते एकता सन्देशसभा आयोजना गर्ने नेकपाको कार्यतालिका छ ।
मंसिर २६ गतेसम्म प्रदेश कार्यालयहरूको निर्णयअनुसार सबै जिल्लामा र मंसिर २९ गते देशभरका सम्पूर्ण स्थानीय पालिकामा एकता सन्देशसभाको आयोजना गर्ने कार्यतालिका छ । बिहीबार (हिजो) नेपाली नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी, एकीकरण पक्षधर समूहबीच एकता घोषणा भएको थियो । यसअघि कात्तिक १९ गते नेकपा एकीकृत समाजवादीलगायत विभिन्न १० घटकबीच नेकपाले एकता घोषणा गरेको थियो ।