चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा २२ अर्ब ९० करोड राजस्व सङ्कलन
१३ मंसिर वीरगञ्ज । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएकाे छ ।
डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु २२ अर्ब ९० करोड राजस्व सङ्कलन भयो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा रु दुई अर्ब ९३ करोडले बढी हो ।
जबकी गत आवको चार महिनाको अवधिमा भने रु ५१ अर्ब १९ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा २० अर्ब ८९ करोड राजस्व सङ्कलन भएकाे थियाे। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको चार महिनामा पेट्रोलियम पदार्थको आयातमा केही वृद्धि भएको जानकारी दिए । “गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट प्राप्त हुने राजस्वमा समेत नौ दशमलव ६० प्रतिशतले बढेको छ,” उनले भने ।