ओली नसकेपछि भाग्नु भयो – नेता रावल


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२
2.2K
SHARES

१५ मंसिर विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले तत्कालीन अध्यक्ष केपी शर्मा ओलीका कारण नेकपा जोगाउन नसकेको टिप्पणी गरेका छन् । सोमबार (मंसिर १५) विराटनगरमा आयोजित पार्टीको सन्देश सभामा उनले जनताले दिएको दुई-तिहाई मतलाई ओलीले दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेर कुल्चिएको बताए ।

त्यसपछि फेरि वामपन्थी आन्दोलन अघि बढाउने भन्ने प्रयासस्वरुप आफूहरूले १५ घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनाएको उनको भनाइ छ । “यो पार्टीमार्फत कसैको अगाडि नझुक्ने र सार्वभौम सत्तासम्पन्न मुलुक बनाउने उद्देश्य हो,” रावलले भने ।नेपाली राष्ट्रिय सुरक्षाको अवस्था भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमै देखिएको भन्दै रावलले आगजनीबाट ऐतिहासिक दस्तावेज ध्वस्त भएको बताए । राष्ट्रिय सुरक्षा प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ । परराष्ट्र नीतिसमेत दर्बिलो बन्न नसक्दा नदीनालादेखि नागरिक अधिकारसमत गुम्ने हो कि भन्ने चिन्ता बढेको उनले बताए ।

आफूले बारम्बार प्रयास गरे पनि एमाले अध्यक्ष ओलीले बलियो कम्युनिस्ट पार्टी नचाहेकोले १० बुँदे सहमति गरेर पनि बचाउन नसकिएको बताए । जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको दमनको आफूले विरोध गरेको उनले बताए । ५ घण्टामा ठूलो क्षति भए पनि तत्कालीन प्रधानमन्त्री ओलीले सुरक्षापरिषद्को बैठकसमेत बोलाउन नसकेको उनको टिप्पणी छ । ओलीले नै आन्दोलनमा दमन गर्न लगाएको र केही सिप नचलेपछि हेलिकोप्टर चढेर भागेको रावलले आरोप लगाए । “पचास वर्ष रहेको पार्टीको नाम पोखरामा मेरो मुखबाट फुत्किएर निस्किएछ । तर, त्यति सुन्दा पनि एमालेका नेतालाई शीतल भएछ,” रावलले भने ।