अमेरिकी निजी क्षेत्रलाई नेपालमा थप लगानी गर्न सहज


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १९ २०८२
1.3K
SHARES

१९ मंसिर काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम नेपाल)ले अमेरिकाको वासिङ्टन डिसीमा नेपालमा अमेरिकी लगानीका सम्भावनाका विषयमा उच्चस्तरीय छलफल गरेको छ । यूएस कमर्सियल संस्थाको सहयोगमा अमेरिकन चेम्बर अफ कमर्सको केन्द्रीय कार्यालयमा डिसेम्बर १ मा भएको बैठकमा अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट, डिपार्टमेन्ट अफ कमर्स, कमर्सियल सर्भिसेस यूएस चेम्बर अफ कमर्सका वरिष्ठ प्रतिनिधिहरूको सहभागिता थियो ।

त्यस अवसरमा द्विपक्षीय व्यापार, आर्थिक कूटनीति, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि, विकसित प्रविधि, उत्पादनमूलक क्षेत्र र सेवामूलक उद्योगमा हुनसक्ने साझेदारी, सहकार्य र सम्भावनाबारे चर्चा गरिएको एमच्याम नेपालले जनाएको छ ।एमच्यामले नेपालमा निजी क्षेत्रका लागि लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा मात्रै दश अर्ब अमेरिकी डलर लगानीको सम्भावना प्रस्तुत गरेको थियो ।

एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाहले अमेरिकी चेम्बर अफ कमर्स इन नेपालको स्थापना विभिन्न अमेरिकी कम्पनीहरूको सहयोगमा भएको उल्लेख गरे ।उनले एमच्याम नेपाल दुवै देशका लगानीकर्ताका लागि बलियो र प्रभावकारी माध्यम रहेको बताए । नेपाल र अमेरिकाका दुवै देशलाई फाइदा हुने गरी व्यापार र लगानीको ठूलो अवसर नेपालमा रहेको उल्लेख गर्दै शाहले ऊर्जा र प्रविधि, डिजिटल नवप्रवर्तनसँगै अन्य क्षेत्रमा पनि ठूलो अवसर रहेकोमा जोड दिए ।

शाहले दुवै देशले व्यापार र लगानी बढाउनका लागि देखिएका नियामकीय चुनौती, अवरोध हटाउन जरुरी रहेको धारणा राखे ।

यूएस चेम्बर अफ कमर्सका निर्देशक प्याट्रिक पिटले भने, “नेपाल सरकारले आईसीटीको क्षेत्रमा देखाएको नीतिगत सुधार निकै राम्रो छ, सरकारले नेपाली कम्पनीलाई अमेरिकामा सब्सिडरी कार्यालय खोल्न पनि बाटो खुलेको छ, यसले अमेरिकी निजी क्षेत्रलाई थप लगानी गर्नका लागि सहज भएको छ ।” उनले पूर्वानुमानयोग्य नियम, पारदर्शी कानुन तथा निरन्तर कार्यान्वयन अमेरिकी लगानीकर्तालाई आकर्षित गर्ने मुख्य तत्व भएको बताए ।

“यस्ता अवसरका लागि नेपाल क्रमशः महत्वपूर्ण बजारको रूपमा उदाइरहेको छ । हामी नेपालले अमेरिकी व्यवसायहरू सफल हुन सक्ने वातावरण अझ सुदृढ गर्दै साझेदारीसहितको समृद्धिमा योगदान पु¥याउने अपेक्षा गर्छौं,” उनले भने ।कार्यक्रममा एमच्याम नेपालले नेपालमा शतप्रतिशत नवीकरणीय ऊर्जा उत्पादन, डाटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ सुविधाका लागि रणनीतिक अवसर प्रस्तुत गरेको थियो ।