पाटन नगरपालिकाको वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी
१९ मंसिर बैतडी । बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । स्थानीय बासिन्दा तथा असन्तुष्ट पक्षले वडाध्यक्ष माथि चुनावी प्रतिबद्धता पूरा नगरेको र भ्रष्टाचार गरेको आरोप लगाउँदै तालाबन्दी गर्न बाध्य भएको बताएका छन् ।२०७९ सालको स्थानीय चुनावमा नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष करुणाकर भट्टले चुनावी प्रचारप्रसारमा ठूलाठूला वाचा गरे पनि आजसम्म एउटा पनि नयाँ विकास योजना नल्याएको तालाबन्दी गर्ने समूहको आरोप छ ।

उनीहरूका अनुसार वडाध्यक्षले स्थानीय सरकारको बजेट दुरुपयोग गरी आफ्ना आसेपासेहरूकै पालनपोषण र भ्रष्टाचारमा लिप्त रहेका छन् । साथै, स्थानीय कार्यक्रम तथा गतिविधिमा जनतालाई सहभागी नै नगराउने र बारम्बार जनतालाई भ्रममा पारेर ‘छोटे राजा’ झैँ व्यवहार देखाएको भन्दै पीडित भएर तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ ।यस विषयमा वडाध्यक्षको प्रतिक्रिया आउन बाँकी छ ।