प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिन्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर २० २०८२
1.9K
SHARES

२० मंसिर काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको बाछिटा अन्य प्रदेशमा पनि पुग्ने दाबी गरेका छन् ।मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको बताए ।

उनले भने, ‘मधेशबाट सुरु भएको नयाँ समीकरण अव सबै प्रदेशमा देखिन्छ । मुलुकमा गणतन्त्र स्थापित भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको र त्यसले सबैलाई आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको छ।’

जेनजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढङ्गले रूपान्तरणका साथ मुलुकको विकासमा लाग्न बृहत् एकता गरिएको बताए ।

सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने बताए । एमालेभित्र रहेका वामपन्थी र क्रान्तिकारीका साथै अन्य कम्युनिस्ट पार्टीहरूलाई पनि नेकपामा एकताबद्ध गर्दै लैजाने उनको भनाइ छ ।

मधेश प्रदेशका महत्त्वपूर्ण विकास आयोजनाहरू कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले सुरु गरेकाले त्यसलाई निष्कर्षमा पुराउने काम पनि कम्युनिस्ट सरकारले नै गर्ने जिकिर गरे ।