ओलीले महाधिवेशन पञ्चायतको गाउँ फर्क शैलीमा गर्न खोजे – उपाध्यक्ष पाण्डे


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर २२ २०८२
1.3K
SHARES

२२ मंसिर काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाएका छन् । एमालेको ११औँ महाधिवेशनमा अध्यक्षमा उमेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरले आइतबार (मंसिर २२) काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनका अनुसार, ०३२ सालमा पञ्चायती व्यवस्थामा गाउँ फर्क शैली लागु गरिएको थियो । गाउँ फर्कले जसलाई टिकट दिन्छ, सोही व्यक्ति मात्र पञ्च भएर निर्वाचन लड्न पाउँथे । सोही शैलीलाई अहिले ओलीले पछ्याएको उनको आरोप छ ।उनले ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रियामै गम्भीर संकट आएको बताए । वर्तमान नेतृत्वले आन्तरिक निर्वाचन प्रणालीलाई सीमित व्यक्तिमुखी बनाउने प्रयास गरिरहेको उनको भनाइ थियो ।

पाण्डेले ओलीकै नेतृत्वमा ७० वर्षे उमेरहद र दुईपटकभन्दा पार्टीको नेतृत्व गर्न नपाउने व्यवस्था गरिएको स्मरण गरे । आठौँ महाधिवेशनमा सर्वसम्मत रूपमा पारित गरिएको लोकतान्त्रिक नेतृत्व विधि पछि नवौँसम्म चलेको उनले बताए ।

१०औँ महाधिवेशनमा भने पहिला सूची पारित गर्ने र त्यसमा रहेका मात्र उमेदवार बन्न पाउने भन्ने प्रावधान ल्याइएको उनले उल्लेख गरे । ११औँ महाधिवेशनमा पनि त्यही प्रक्रिया दोहोर्‍याउन खोजिएको उनले आरोप लगाए ।

पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदा नवपुस्ता र जनतामाझ एमाले खुम्चँदै गएको उनले टिप्पणी गरे ।चुनाव, प्रतिस्पर्धा नहुने, माथिबाट ‘लिस्ट’ बेचिने पार्टीमा किन आउने ? भन्ने प्रश्न नवपुस्ताले उठाउन थालेको उनले बताए ।

कार्यक्रममा सुरेन्द्र पाण्डेको भनाइ पढ्नोस्–
उहाँ आफैँ (केपी ओली)ले अगुवाइ गरेर नेतृत्वको लोकतान्त्रिकरण कसरी गर्ने, पार्टीको लोकतान्त्रिकरण कसरी गर्ने भनेर दुईपटक र ७० वर्षको कुरा उहाँकै प्रस्तावमा, उहाँ नै कार्यदलको संयोजक भएर पारित भएको हो । आठौँ महाधिवेशनमा हामीले सर्वसम्मत रूपमा पारित गरेर त्यसपछि निर्वाचन पनि हामीले एकदमै लोकतान्त्रिक ढंगले गर्‍यौँ । नवौँमा भयो, १०औँमा गएपछि उहाँले के भन्नुभयो भने पहिला को उठ्न पाउँछ, त्यो मात्रै मान्छेले उठ्न पाउने, एउटा लिस्ट पास गर्ने र ती स्ष्टिमा रहेका मान्छेले मात्रै चुनाव लड्न पाउने । यो त गाउँ फर्क शैली होइन र ? २०३२ सालमा गाउँ फर्क लागु भएपछि यही कुरा गरेको थियो । गाउँ फर्कले टिकट दिन्थ्यो, ती मात्रै मान्छे पञ्च भएर चुनाव लड्न पाउँथे । अरूले लड्न पाउँदैनथे । अहिले उहाँले के व्याख्या गरिरहनुभएको छ भने कहाँ पूर्वको मान्छेलाई पश्चिमको मान्छेले चिन्छ, दार्चुलाको मान्छेलाई ताप्लेजुङकोले कसरी चिन्ने ? त्यो त नेताले मात्रै चिन्न सक्छ । त्यसकारण नेताले चिनेको मान्छेलाई सबैले भोट हाल्नुपर्छ । यो लोकतान्त्रिक विधि भयो र ? उहाँले धेरैपटक बोल्नुभएको छ । यस्तो विधिबाट पार्टी लोकतान्त्रिक हुँदैन । अझ उल्टो के भने लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी पार्टीमा, केही व्यक्तिको निर्णयबाट चल्ने पार्टीको रूपमा रूपान्तरित गर्ने जुन किसिमको परिस्थिति बन्दै छ, यसले गर्दा नेकपा (एमाले) जनताको बीचमा साँघुरिने, खुम्चिने, आइसोलेसनमा जाने अवस्था देखापर्दै छ । विस्तार भएर जानुपर्ने, नवपुस्ताको बीचमा पार्टी विस्तार हुँदै जानुपर्नेमा पनि नवपुस्ताले पनि भन्न थाले– चुनाव नहुने पार्टीमा किन जाने आउने ? प्रतिस्पर्धा नहुने पार्टीमा किन आउने ? तोकुवा माथिबाट लिस्ट बेच्ने पार्टीमा किन आउने ? जहाँ हाम्रो कुनै सम्भावना छैन ।