सक्रिय राजतन्त्रमा सहमत छैनौँ – धवलशमशेर राणा


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २३ २०८२
1K
SHARES

२३ मंसिर काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन् ।मंगलबार काठमाडौंमा पार्टीले गरेको सभालाई सम्बोधन गर्दै राणाले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नरहेको बताए । नेपालमा संवैधानिक राजसंस्था भने जरुरी रहेको उनको भनाइ छ । यसबारे आफूहरूले पूर्वराजासँग कुराकानी गरेर स्पष्ट पारेको पनि उनको भनाइ छ ।

नेपालीका छोराछोरीले देश चलाउने र अभिभावकको भूमिकामा राजसंस्था रहने उनले बताए । “धेरै साथीहरूले सक्रिय राजतन्त्रका कुरा गर्छन् । त्यो कुरासित हामी सहमत छैनौँ । अब सक्रिय राजसंस्था होइन । संवैधानिक राजसंस्था आवश्यक छ,” राणाले भने, “यो कुरा मैले (पूर्व) राजासँग पनि सोधेर स्पष्ट पारेको छु । नेपालीका छोराछोरीले देश चलाउने हो । अभिभावकको भूमिका राजसंस्थाले गर्नुपर्छ । यो विषयमा हामी स्पष्ट हुनुपर्छ ।”

राणाले अहिले निर्वाचनको आवश्यकता नरहेको बताए । “यो निर्वाचनको अहिले आवश्यकता छैन । अहिले निर्वाचनले देशलाई निकास दिन सक्दैन । हामीले देशलाई नयाँ सोचका साथ अगाडि बढाउनुपर्ने आवश्यकता छ,” राणाले भने ।ठूलो हृदय गरेर सबै हिन्दुवादी, राजावादी, गणतन्त्रविरोधी, संघीयताविरोधी सबैलाई एक ठाउँमा राख्न नसके राप्रपाले बोकेको मूल्य मान्यता यथार्थमा परिणत गर्न कठिन हुने उनको भनाइ छ ।