एमाले महाधिवेशनमा विदेशी पाहुना नबोलाइने
२५ मंसिर काठमाडौं । नेकपा एमालेले ११औँ महाधिवेशनमा विदेशी पाहुना नबोलाइने भएको छ। बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका हुन्। उनका अनुसार एमालेले भौतिक उपस्थितिका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दललाई शुभकामना पत्र पठाउन भनिएको छ।
एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ देखि २९ सम्म भक्तपुर र काठमाडौँमा हुँदै छ। महाधिवेशन उद्घाटनमा नेपालका १६ राजनीतिक दललाई आमन्त्रण गरिएको बर्तौलाले बताए। महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता उनले बताए। उनका अनुसार लाखौँको संख्यामा नेता, कार्यकर्ता महाधिवेशनका लागि काठमाडौँ आउने क्रम जारी छ। महाधिवेशनमा १ सय ८ जना मनोनीतसहित २ हजार २ सय ६८ प्रतिनिधि सहभागी हुने जानकारी बर्तौलाले दिए।
‘यो पटकको महाधिवेशनमा बाह्य देशबाट विदेशी पाहुनाहरूको हकमा भौतिक रूपमा उहाँहरूलाई आमन्त्रित गरेका छैनौँ। उहाँहरूबाट शुभकामना पत्र मात्रै माग गरेका छौँ। उहाँहरूलाई त्यसरी पत्राचार गरेका छौँ। विभिन्न देशका हाम्रो पार्टी सम्बद्ध रहेका २६ वटा पार्टीहरू, र गैरकम्युनिस्ट पार्टीहरूलाई निमन्त्रणा पठाएका छौँ, उनले भने, नेपालका १६ वटा दलहरूलाई पत्राचार गरेका छौँ।