ओलीले बढाए अन्तर
३ पुस काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । बिहीबार (पुस २) बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा मतगणना थालिएको हो ।हालसम्म १६ विद्युतीय मेसिनको मतगणना गरिएको छ । त्यसमध्ये अध्यक्ष पदका उमेदवार केपी शर्मा ओलीले ३३३ र ईश्वर पोखरेलले ११० मत ल्याएका छन् । हालसम्म ४४३ मतगणना गरिएको हो ।
मतदानमा ८० विद्युतीय मेसिन प्रयोग गरिएको थियो । त्यसबाट प्रतिनिधिले मतदान गरेका हुन् ।यसपालि कुल दुई हजार २६३ मतदाता थिए । दुई हजार २२७ प्रतिनिधिले मतदान गरे । ३६ प्रतिनिधि मतदानमा अनुपस्थित रहेका पार्टी निर्वाचन आयोगले जनाएको छ ।
१९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । सबै पदमा गरी ३०० भन्दा बढी उमेदवार छन् ।बुधबार (पुस १) बिहान करिब सवा ९ बजेदेखि मतदान थालिएको थियो । बिहीबार (पुस ३) बिहान मतदान सकिएको हो ।गएको मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित चौरमा महाधिवेशन उद्घाटन गरिएको थियो । त्यसको भोलिपल्टदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु गरिएको थियो । मंसिर २९ गते महाधिवेशन सकाउने पूर्वनिर्धारित तालिका थियो । तर, मतदानमा ढिलाइ हुँदा महाधिवेशन लम्बिएको हो ।