प्रधानमन्त्री भएर देशको सेवा गर्ने चाहना छ – विप्लव
५ पुस काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूलाई प्रधानमन्त्री बन्ने चाहना रहेको बताएका छन्। जेनजीसँगको अन्तरक्रियामा बोल्दै अहिले चुनाव हुन्छ कि हुँदैन भन्ने सबैलाई शंका भइरहेको बताए।
उनले भने, ‘सुशीला कार्की नेतृत्वको सरकारको चुनावको कुरा मान्छेले पत्याइरहेका छैनन्। पुलिसको १६ सय हतियार लुटिएको छ। त्यो फिर्ता भएको छैन। चुनाव गर्न सक्नेगरी प्रहरीको मनोबल उठेको छैन। त्यसैले हामीले अन्तरिम सर्वपक्षीय सरकार बनाएर जेनजीका माग सम्बोधन गरेर, सम्भव भए प्रत्यक्ष राष्ट्रपति चुन्ने या सबै जनताको भोटबाट प्रधानमन्त्री चुन्ने, जेनजीको पनि त्यही माग छ।’उनले पटकको चुनावमा नेकपा माओवादी पनि भिड्ने भन्दै देशलाई राम्रो बनाउने सपना आफूहरूसँग रहेको बताए।
उनले थपे, ‘हामीले बन्दुक पनि बोक्यौ, जेल पनि गयौँ, किताब पनि पढ्यौँ । अहिले नयाँ उद्योगधन्दा पनि चलाउँछौँ, काम गर्छौँ। यदि नेपालका किसान, मजदुर, बद्धिजिवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने तिमीहरू एक चोटि गरेर देखाऊ न भनेर तपाईँहरूले जिम्मा दिनुहुन्छ भने एकचोटी यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरु जस्तो जोतेर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ।’