अब त्यो दिन आउन दिनु हुँदैन – महामन्त्री थापा
७ पुस काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जस्तोसुकै अवस्थामा पनि देश कांग्रेसले सम्हाल्नुपर्ने बताएका छन् ।“उत्तेजनामा ल्याउन सहज हुन्छ, सम्हाल्न गाह्रो हुन्छ । बंगलादेश फेरि युद्धमा फस्दैछ । हामी पनि बीचबीचमा यस्तो अवस्थामा बेहोर्दै आएका छौँ,” उनले सोमबार बिहान कार्यकर्तालाई सम्बोधन गर्दै भने, “कांग्रेस भनेको राष्ट्रिय शक्ति हो । राष्ट्रिय शक्ति चुनावले निर्धारण गर्छ ।”
उनले भदौ २४ मा घर जलाइएपछि आफूले डेरासमेत नपाएको बताए ।“बानेश्वरमा एउटा घर पाएका थियौँ, को बस्ने भनेपछि मेरो नाम आएछ, त्यसपछि घरभेटीले यहाँ पानी आउँदैन भनिदिनुभएछ,” थापाले भने ।
उनले आफ्नो परिवारमा आजको दिनसम्म पनि त्रास रहेको बताउँदै भने, “केही दिनअघिमात्रै मेरो छोरी साथीको घरमा बस्न गएकी थिइन् उनलाई लागेछ उठ्नै नपरे हुन्थ्यो । यो कुरा घरमा आएर सुनाइन् ।”
गगन थापाले यो कुरा सुनाउँदै गर्दा आँखाभरि आँसु बनाएका थिए । “आज पनि विद्यालय बन्दको अवस्था आएछ,” उनले भने, “अहिले छोरीहरुको अनुरोध छ–बाबा अब हामी घरबाट नभाग्ने है !”उनले कांग्रेसले माओवादीको सशस्त्र संघर्षका बेला कांग्रेस कार्यकर्ताले यो भन्दा ठूलो पीडा भोगेको बताउँदै सम्हाल्ने पनि कांग्रेसले नै भएको बताए ।