एमालेभित्र निषेध भयो – बासुदेव घिमिरे
१७पुस बुटवल । विघटित प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले)का नेता बासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरे । रुपन्देही क्षेत्र नम्बर ५ बाट सांसद बनेका घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने अन्तिम तयारी गरेका हुन् ।
एमालेको ११औँ महाधिवेशनमा लुम्बिनीको भूगोलबाट केन्द्रीय सदस्यमा उमदेवारी दिए पनि उनी पराजित हुन पुगेका थिए । महाधिवेशन प्रतिनिधि सहजै जितेका घिमिरेले केन्द्रीय सदस्यमा पराजित भएपछि पार्टी छोडेको भन्दै आलोचना खेपिरहेका छन् । उनले भने नेतृत्वले आम जनताको इच्छा तथा चाहनालाई सम्बोधन गर्न नसकेकोले पार्टी परित्याग गरेको जनाएका छन् ।
नेतृत्व हस्तान्तरण, पुस्तान्तरण तथा रुपान्तरण जनताले चाहे पनि लामो समयसम्म उही व्यक्ति एउटै पदमा बस्नु उचित नभएको भन्दै आफूले एमाले परित्याग गरेको बताएका हुन् । उनले भने, “अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो । देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देशप्रतिको अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य सर्त हो ।”
घिमिरेले एमाले सुधार हुने अवस्थामा नदेखिएको र पार्टीभित्र सुध्रिने सम्भावना कम भएको बताए । उनले सुशासन, विकास र रोजगारीका लागि निष्ठाका साथ अघि बढ्ने अभियानमा साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने, “पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले मैले म रहेको पुरानो पार्टीको जिम्मेवारीबाट अलग भएको हुँ ।”
बासुदेवले एमालेबाट के पाए ?
२०४८ सालदेखि एमाले प्रवेश गरेका उनले पार्टीमा अवसर नपाएका भने होइनन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरप्रमुखको जिम्मेवारी पाए । २०७९ सालको निर्वाचनमा पनि मेयर नै दोहोरिने चाहना देखाएका थिए । तर, उनको टिकट खोसियो । मोहन चापागाईंले टिकट पाए तर जितेनन् ।
यसले उनलाई घाटा लागेन । उनी अपग्रेड भए । रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाए । तर, उनले पाएको टिकट खोसेर तत्कालीन राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईलाई तत्कालीन महासचिव शंकर पोखरेलले टिकट दिए । तर, बासुदेवले पहिलेनै उमेदवारी दर्ता गरेकोले उनी नै आधिकारिक भए र जिते । यसले केही द्वन्द्व भने देखायो ।
बासुदेव पाँच वर्षका लागि सांसद भए । तर पूरा कार्यकाल निभाउन पाएनन् । तिलोत्तमा नगरपालिकामा रहँदा कार्यकारी भूमिकामा रहेका उनलाई सांसदको भूमिका सीमित मात्रै रह्यो । तर, उनले धेरै विषयमा महत्त्वपूर्ण कुराहरू सदनमा उठाए ।
जेनजी आन्दोलनमा ओलीको राजीनामा मागेका थिए
भदौमा जेनजी आन्दोलन चर्किएपछि एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका घिमिरेले नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका थिए । आन्दोलनमा युवाहरूको आक्रोश बढ्दै गएपछि उनले “प्रधानमन्त्रीले राजीनामा दिन ढिला गर्नु हुँदैन” भनेका थिए । त्यसपछि आन्दोलनले प्रधानमन्त्री ओलीको राजीनामा नै गराएको थियो ।
कहिलेबाट थियो असन्तुष्टि
एमाले परित्याग गरेपछि धेरैले उनलाई अवसरवादीको रूपमा चित्रण गरेका छन् । तर, उनले भने पार्टीको शैलीप्रति असन्तुष्ट हुन लागेको लामै समय बनेको दाबी गरे ।
बासुदेवले आफ्नो क्षेत्रको विकास र योजनाका लागि पटक–पटक तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई भेट्न खोजे पनि नपाएको गुनासो गरे । प्रत्येक महिना प्रयास गर्दा समेत भेट दिइएन । रुपन्देही–५ मा टिकट पाउँदा नमानेको भन्ने सूचना अध्यक्षलाई दिएदेखि आफूप्रतिको व्यवहार राम्रो नपाएको बताए । आफूले आफ्नो क्षेत्रमा बजेट तथा योजना नपाउँदा दिक्क लागिरहेको सुनाए ।
उनले पार्टीप्रति त्यतिबेला नै आक्रोश पोख्दै आएको बताए । जेनजी आन्दोलनकै क्रममा पार्टीबाट राजीनामा दिने योजना बनाए पनि सबैको सल्लाहले रोकिएको सुनाए ।
जेनजी आन्दोलनको एजेन्डाअनुसार पार्टी नेतृत्व परिवर्तन हुनेमा आशावादी रहेकोले महाधिवेशनमा सहभागी भएको बताए । उनले भने, “अर्लि इलेक्सन हुने देखियो । तयारी पनि भयो । लोकतान्त्रिक प्रणाली देखियो । तर, परिवर्तन केही भएन ।”
निर्वाचन प्रणाली राम्रो देखिए पनि पहिले नै तोकिएका सीमित व्यक्तिबाहेक सबैलाई निषेधको वातावरण बनाइएकोप्रति आक्रोश व्यक्त गरे । उनले परिणाम फरक आउने भएपछि मतदान सारिएको बताउँदै प्रतिनिधिहरूलाई प्रलोभन देखाएर सीमित व्यक्तिले जितेको बताए ।
एक व्यक्ति निहीत पार्टी गलत रहेकोले आफू यसबाट निरन्तर असन्तुष्ट रहेको उल्लेख गरे । एमालेको अहिलेको नेतृत्वले निषेधको वातावरण बनाउने भएकोले पार्टीबाट अलग हुने योजना अनुरुप राजीनामा दिएको बाह्रखरीलाई बताए । अहिलेको नेतृत्वमा पूगेको टोलीले पार्टीलाई १० वर्ष कब्जामा राख्ने बताउँदै आफूलगायत ठूलो जमात बाहिरिने तयारी रहेको बताए ।
रास्वपा प्रवेशको तयारी
एमाले परित्याग गरेपछि रास्वपा प्रवेश गर्ने गरी तयारी गरिरहेका छन् । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बोलन)ले नै रास्वपामा आउन आग्रह गरेका बताए ।
घिमिरेले नयाँ र वैकल्पिक शक्ति भनेको रास्वपा देखिएको र जनताको आकर्षक बनेको बताए । उनले आफू पार्टीको आग्रहमा सकारात्मक रहेको बताउँदै कहिले प्रवेश गर्ने वा केही समय स्थिर रहने भन्नेमा छलफलपश्चात् निर्णय गरिने जनाए । बालेन सचिवालयबाट रुपन्देही–२ को प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन आग्रह आए पनि छलफलपश्चात् निर्णय गर्ने उनको भनाइ छ ।
बालेनसँगको पुरानै हो सम्बन्ध
पछिल्लो समय घिमिरे काठमाडौं महानगरपालिकाका मेयर बालेनसँग निकट रहेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा विजयी भएका घिमिरेले विभिन्न कार्यहरू गर्दै पालिकालाई आन्तरिक मूल्यांकनमा उत्कृष्ठ स्थापित गरे ।
तिलोत्तमाको मेयरमा जितेका बासुदेवसँग मेयर लड्ने तयारी गरेका बेला बालेन भेटघाटमा आएका थिए । त्यो बेला बासुदेवले बालेनसँग लोकप्रिय गायक कलाकारको रूपमा भेटेका थिए ।
त्यो बेला मेयर जित्न र गर्नुपर्ने कामहरूको बारेमा वासुदवले बालेनलाई सुझाएका थिए । बालेनले जितेपछि निरन्तर सम्पर्कमा रहेका थिए । बालेनले बासुदेवलाई त्यतिबेला लौरो अभियानबाट चुनाव लड्न आग्रह गरेका थिए । तर, बासुदेव मानेनन् । त्यसयता बालेन र बासुदेव निरन्तर सम्पर्कमा छन् ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–५ मा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित घिमिरेको पक्षमा मत समेत मागेका थिए । निर्वाचन आचारसंहिता नै नमानी रुपन्देही आएर बासुदेवलाई सपरिवार पुगेर भेटवार्ता गरेका थिए । उनले बासुदेव राम्रो छवि भएको नेता भन्दै चुनावी प्रचार समेत गरेका थिए । सांसद जितेपछि भने केही समय सम्पर्कमा नरहेका बालेन जेनजी आन्दोलनदेखि फेरि सम्पर्कमा आए ।
कसरी आएका थिए राजनीतिमा ?
दक्षिण कोरियामा करिब आठ वर्ष बसेर उनी नेपाल फर्किएका थिए । २०७४ मा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नेतृत्वको लागि चुनावमा खटिए । अहिलेका नगरप्रमुख कांग्रेस नेता रामकृष्ण खाँणलाई पराजित गर्दै तिलोत्तमाको बागडोर सम्हालेका थिए । त्यसपछि घिमिरेले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र सरसफाइ जस्ता क्षेत्रमा महत्त्वपूर्ण काम गरे ।
त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–५ बाट विजयी भएपछि उनी संसद्मा भ्रष्टाचार नियन्त्रण, सुशासन, समानुपातिक विकास र युवा–लगानीमैत्री नीतिका लागि आवाज उठाउँदै आएका थिए ।