आमनिर्वाचन एक्लै लड्छौँ – अग्नि सापकोटा
२५ पुस काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)सँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आमजनताले नरुचाएको बताएका छन् । उनले राजनीतिक दलबीच सहकार्य हुनु स्वाभाविक भए पनि आमनागरिकले सकारात्मक रूपमा नलिएको बताएका हुन् ।राष्ट्रियसभा सदस्य निर्वाचनमा मतभारका आधारमा सिट बाँडफाँट हुनुपर्ने प्रस्ताव पार्टीले अघि सारे पनि कांग्रेस–एमाले त्यसनिम्ति तयार नभएको उनले उल्लेख गरे । उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि नेकपाले कुनै दलसँग सहकार्य नगर्ने बताए ।
न्युज एजेन्सी नेपालसित उनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाझ जाने सुनाए । एक्लै चुनाव लड्न आमजनताबाट समेत सुझाव प्राप्त भएको उनको भनाइ छ । नेता सापकोटाले महाधिवेशनका विषयमा नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले नेकपा र राष्ट्रिय राजनीतिमा तात्त्विक असर नपार्ने बताए । एकताबद्ध हुनु पार्टीका निम्ति हितकर हुने भन्दै उनले विभाजिततर्फ नजान आग्रह पनि गरे ।
अग्नि सापकोटाको भनाइ पढ्नोस्–
राष्ट्रियसभा सदस्यमा कांग्रेस र एमालेसँग मिल्ने कुरा हाम्रो पार्टीपंक्ति र आमजनताले पनि त्यति मन पराइरहेका छैनन् । मिल्ने विषय बाहिर आउँदा पनि आलोचना र टिप्पणीहरू आई नै रहेका थिए । तर पनि राजनीतिक पार्टीहरूसँग हुने सहकार्यको विषय स्वाभाविक पनि हुन्छ । फेरि, यो राष्ट्रियसभाको निर्वाचन भनेको आमनिर्वाचनजस्तो होइन । प्रतिनिधिहरूले चुन्ने निर्वाचन भएको हुनाले यो अरू निर्वाचनजस्तो होइन । मतभारको आधारमा सिट बाँडफाँट हुन्छ भने गरौँ भनेर हामीले भनेको हो । तर, त्यहाँ समानता र निष्पक्षताको भाव देखिएन पनि । एक त हामी स्वतन्त्रतापूर्वक चुनाव लड्न चाहान्छौँ र प्रत्यक्ष निर्वाचन नभएको हुनाले समझदारी गर्ने भए गरौँ भनेको हो, तर उनीहरूमा मिल्ने छाँट देखिएन । हामी अगामी आमनिर्वाचन पनि एक्लै लड्छौँ, एक्लै लड्न जनताको पनि सुझाव छ ।
नेपाली कांग्रेसको आन्तरिक कुरा हो, अब त्यो कसरी जान्छ उनीहरूमै भर पर्ने कुरा पनि भयो । तर, पार्टी फुट्नुभन्दा एकताबद्ध हुनु नै राम्रो हो । चाहे जुनसुकै पार्टी भए पनि फुट र विभाजन हुनुभन्दा एकताबद्ध हुनु नै राम्रो हो । मलाई जहाँसम्म लाग्छ, कांग्रेस नेताहरूले कुनै न कुनै उपाय खोजेर एकताबद्ध हुन्छन् होला । अब कांग्रेसको आन्तरिक मामिलाले हामीलाई त्यस्तो तात्त्विक अन्तर पर्दैन ।