नेकपाको २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ मंगलबार
२८ पुस काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ मंगलबार आयोजना गरेको छ । उक्त कार्यक्रम भौतिक र भर्चुअल गरी दुवै विधिले सम्पन्न हुने भएको छ । नेकपाका नेता गंगालाल तुलाधरले जारी गरेको एक सूचनाअनुसार काठमाडौं उपत्यमा रहेकाले मंगलबार (पुस २९) दिउँसो १ बजे पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रुपमा र उपत्यका बाहिर रहेकाले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमा गएर भर्चुअल रुपमा शपथ लिन सक्नेछन् ।
शपथ लिएका केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र दिने व्यवस्था रहेको तुलाधरद्वारा जारी सूचनामा उल्लेख छ ।शपथमा सहभागी हुने २४९९ सदस्यी केन्द्रीय सदस्यको नामावली टुङ्गो लगाउन अहिले पेरिस डाँडामा ६ सदस्यीय कार्यदलको बैठक बसिरहेको छ ।
उक्त कार्यदलमा पूर्वमाओवादीका तर्फबाट देव गुरुङ, वर्षमान पुन र गिरिराजमणि पोखरेल छन् । तत्कालीन एकीकृत समाजवादीको तर्फबाट प्रमेश हमाल, बेदुराम भुसाल र प्रकाश ज्वाला छन् । २४९९ कै सङ्ख्याभित्रबाट पदाधिकारी, केन्द्रीय कार्यालय, सचिवालय, विभिन्न आयोग, विभाग तथा निकायहरु बनाइने तयारी रहेको नेकपा स्रोतले जनाएको छ ।
तत्कालीन एसका फरक–फरक सूची
एकतामा सामेल भएका विभिन्न वाम घटकमध्ये तत्कालीन नेकपा एसका नेताहरुले आ–आफ्ना तर्फबाट अलग अलग नाम पेश गरेका छन् ।सहसंयोजक माधवकुमार नेपाल, नेताहरु झलनाथ खनाल, वामदेव गौतमलगायतले आ–आफ्ना समूहका अलग अलग नाम दिएको र उनीहरुले पदाधिकारी, सचिवालयलगायतका जिम्मेवारी माग गरेका छन् ।
नेकपा स्रोतका अनुसार तत्कालीन एसको तर्फबाट नाम टुङ्ग्याउने कार्यदलमा रहेका हमाल र भुसाल माधवपक्षका हुन्, ज्वालाले झलनाथको प्रतिनिधित्व गर्छन् ।