माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस
२८ पुस काठमाडौं । सरकारले राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार (पुस २८) बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते बिहान ११ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८२ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय गरेको छ भने मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता खरेलले जानकारी गराए ।
बैठकले २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि अमेरिकी डलर तीन लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गरेको छ ।