रास्वपाको पहिलो चुनावी घोषणासभा जनकपुरमा
३० पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनकपुरमा चुनावी घोषणासभा आयोजना गर्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहितको घोषणासभा हुने भएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले फागुन २१ गतेका लागि निर्वाचनको घोषणा गरेको थियो ।
निर्वाचन नजिकिएसँग रास्वपाले निर्वाचनलक्षित गतिविधिलाई तीव्रता दिन थालेको रास्वपाका नेता शिशिर खनालले बताए । “रास्वपाको पहिलो चुनावी घोषणासभा माघ ५ गते जनकपुरमा हुँदै छ । फागुन २१ गतेको निर्वाचनका लागि सुरुआतीसभा पनि हो,” उनले भने । सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन एउटै मञ्चमा देखिएर सम्बोधन गर्ने उनले बताए ।“पार्टी सभापति, वरिष्ठ नेता, उपसभापतिद्वयलगायत नेता घोषणासभामा जानुहुनेछ । उक्त सभापछि माघ ६ गते उमेदवारी दर्तामा रास्वपामा होमिनेछ,” नेता खनालले भने ।
बालेननिकट स्रोतका अनुसार, माघ ३ वा ४ गते बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन् । “बालेन दाइले काठमाडौं महानगरको मेयर पदबाट माघ ३ वा ४ गते राजीनामा दिनुहुन्छ । त्यसपछि ५ गते जनकपुरमा हुने सभामा जानुहुन्छ,” स्रोतले भन्यो, “सभापछि ६ गते उमेदवारी दर्ताका लागि झापा क्षेत्र नम्बर ५ मा जानुहुन्छ ।”
यसअघि बालेन र रविबीच दुई पक्षीय सहमति भएको थियो । उक्त सहमतिअनुसार, निर्वाचनपछिको पार्टी संसदीय दलको नेता र प्रधानमन्त्रीको उमेदवार बालेन बन्नेछन् ।
बालेनले झापा ५ मा उमेदवारी दिएमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा हुनेछ । यसका लागि बालेनको टिमले जनमत सर्वेक्षण समेत गरिरहेको छ ।