विशेष महाधिवेशनका ८८५ जनाले हस्ताक्षर फिर्ता लिए – कार्यवाहक सभापति खड्का
२ माघ काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८८५ हस्ताक्षरकर्ता विशेष महाधिवेशनबाट बाहिरिएको दाबी गरेका छन् ।शुक्रबार (माघ २) निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका खड्काले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८८५ हस्ताक्षर कर्ताले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका हुन् ।
हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाएको बताए । विशेष महाधिवेशन भेलाभन्दा पहिला र पछिको हस्ताक्षर आफूसँग रहेको उनको भनाइ छ । उनले भने, “हस्ताक्षर कर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागीमध्ये ८८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रिय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ ।”गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ ।