विप्लव सहित शीर्ष नेताहरू उम्मेदवार नबन्ने
५ माघ काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) ले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका शीर्ष नेताहरूलाई उम्मेदवार नबनाउने भएको छ ।पहिलो पटक औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको यो पार्टीले स्थायी कमिटीका सबै सदस्यलाई निर्वाचनबाट अलग राख्ने निर्णय गरेको एक नेताले बताए ।
सङ्गठनात्मक परीक्षण र तल्लो तहका नेताहरूलाई अवसर दिने नीति अघि सारेको छ । गए राति बसेको स्थायी कमिटी बैठकले महासचिव विप्लवसहित शीर्ष तहका नेताहरू उम्मेदवार नबन्ने निर्णय गरेको हो । मनोनयनको दुई दिनअघि आएको यो निर्णयले पार्टीभित्र ‘नेतृत्वभन्दा सङ्गठन’लाई प्राथमिकतामा राख्ने सन्देश दिएको विश्लेषण भइरहेको छ ।
निर्वाचन आयोगमा दर्ता भई गुलाफ चिन्ह प्राप्त गरेको पार्टीले समानुपातिकतर्फको बन्द सूची बुझाइसकेको भए पनि प्रत्यक्षतर्फ शीर्ष नेताहरूलाई मैदानमा नउतार्नु राजनीतिक रूपमा फरक अभ्यास मानिएको छ । यसअघि महासचिव विप्लव रोल्पाबाट एकल उम्मेदवारका रूपमा सिफारिस भएका थिए भने अन्य विभिन्न क्षेत्रबाट पनि शीर्ष नेताहरूले उम्मेदवारी तयारी गरेका थिए ।
पार्टी स्रोतका अनुसार स्थायी कमिटीको निर्णयले पोलिटब्युरो सदस्यदेखि तलका नेताहरूलाई उम्मेदवार बनाउने बाटो खुला गरेको छ । तर सोही पार्टीका अर्का नेताका अनुसार स्थायी कमिटीको निर्णयपछि थप रणनीति तय गर्न आजै पोलिटब्युरो बैठक बस्ने तयारी छ। एमालेसहित केही दलसँग चुनावी सहकार्य गर्ने तयारी गरेको बेला शीर्ष नेताहरूका स्थानमा ग्रिन सिग्नल नपाएकाले यसो गरिएको आङ्कलन गरिएको छ ।