अपारदर्शी कारोबार नियन्त्रण गर्न नगदी सीमा घटाइयो – अर्थमन्त्री
१० माघ काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदी सीमा घटाइएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार (माघ ११) काठमाडौंमा आयोजित कार्यक्रममा उनले कतिपय क्षेत्रमा अझै पनि अपारदर्शी ढंगले काम भइरहेको उल्लेख गरे ।गलत तरिकाले आर्जन गरिएको कालो धनलाई सेतो बनाउने माध्यमका रूपमा ती निकाय प्रयोग भइरहेकाले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदी सीमा घटाइएको उनले बताए ।
उनले बैंक तथा वित्तीय संस्थाले अरू निकायको तुलनामा हालसम्म राम्रै काम गरेको उल्लेख गरे । अझै सावधान हुनुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।उनले ‘फिजिकल करेन्सी’बाट ‘भर्चुअल करेन्सी’तिर र ‘फिजिकल बैंकिङ एक्सेस’बाट ‘भर्चुअल बैंकिङ एक्सेस’तिर जानुपर्ने आवश्यकतामा जोड दिए ।
धितोमा आधारित कर्जाको सट्टा उद्यमशीलता, क्षमतामा आधारित, आयआर्जन गर्ने क्षमतामा आधारित विधिबाट लगानी गर्न सक्ने अवस्थाका निम्ति नेपाल राष्ट्र बैंकसँग अर्थ मन्त्रालयले छलफल गरिरहेको उनले बताए ।उनले हाल वित्तीय क्षेत्र त्यति कमजोर नरहे पनि पनि बेलाबेलामा विभिन्न कारणले समस्या आउनु स्वाभाविक भएको उल्लेख गरे ।