अर्थतन्त्रलाई अघि बढाउने गरी घोषणापत्र ल्याउँछ – नेता गुरुङ
१८ माघ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको घोषणापत्र उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने गरी ल्याउने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरी उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने गरी घोषणापत्र ल्याइने बताए ।
अर्थतन्त्र सुधार गर्न सुशासनलाई पहिलो एजेन्डा बनाउने उनको भनाइ छ । “नेपाली अर्थतन्त्र उत्पादनमुखी बनाउन हामीले जोड दिएका छौँ । आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएको छौँ,” उनले भने ।
गुरुङले रोजगारीमुखी अर्थतन्त्र, कृषि उपजको बजार विस्तारमा जोड दिने गरी घोषणपत्र ल्याउने बताए । ठूला उद्योगहरूलाई प्राथमिकता दिएर गेम चेन्जर परियोजनालाई जोड दिने उनको दाबी छ ।
डिजिटल अर्थतन्त्रको विकास हुने खालको र कार्यान्वयनमुखी घोषणापत्र ल्याउने उनले बताए । विगतमा धेरै प्रचारमुखी भएको भन्दै यो पटक कार्यान्वयन हुनेखालको घोषणत्र ल्याउने उनको भनाइ छ । राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिका कारण घोषणापत्र कार्यान्वयन हुन नसकेको उनले बताए ।