देश बचाउने कि विदेशी हस्तक्षेप बढाउने भन्ने यो चुनावले फैसला गर्छ – नेता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १९ २०८२
2.1K
SHARES

१९ माघ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले फागुन २१ गते हुने निर्वाचनलाई सामान्य रूपमा लिन नहुने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र सर्लाही–३ मा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै यो चुनाव देश बचाउने कि देशमा विदेशी हस्तक्षेप बढाउने भन्नेबारे फैसला हुने चुनाव भएको बताए।

उनले भने, ‘संविधान र लोकतन्त्र हामीले लडेर ल्याएको रक्षा गर्ने कि, त्यसमा प्रतिगमन हुन दिएर यो अपहरित हुन दिने र जनतालाई फेरि निरङ्कुश तन्त्र लादिने स्थिति ल्याउने रोक्ने भन्ने चुनाव हो। भ्रष्टाचारको विरुद्ध सुशासन कायम गर्ने कि, भ्रष्टाचारीहरूलाई नै निरन्तरता दिने भन्ने चुनाव हो।’

देशलाई विकास र समृद्धिको दिशातिर लैजाने कि अभाव, बेरोजगारी कायमै राख्ने भन्ने चुनाव भएको बताए। उनले थपे, ‘हामी भ्रमबाट मुक्त भएर राष्ट्रिय स्वाधीनताको पक्षमा, लोकतन्त्र र संविधानको पक्षमा, सुशासन, विकास र समृद्धिको पक्षमा, मजदुर, किसान, दलित, जनजाति, महिला, मधेसी, पिछडिएको क्षेत्रको जनता, सीमान्तकृत समुदायको हकहितको पक्षमा उभिने पार्टीलाई जित्ने, जिताउने भन्ने हो।’ राष्ट्रिय स्वाधीनताको पक्षधर, सुशासन र समृद्धि, संविधान र लोकतन्त्रको पक्षधर, मजदुर, किसान, गरिब, सुकुम्वासीको पक्षधर, मधेसी, जनजाति, दलितको पक्षधर आफ्नो पार्टी भएको जिकिर गरे।