नेकपाले कसैसँग तालमेल गर्दैन – रञ्जित तामाङ


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २० २०८२
2.1K
SHARES

२० माघ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीबाट झापा-५ मा उम्मेदवार रहेका रञ्जित तामाङले चुनावी गठबन्धन वा तालमेलको कुनै सम्भावना नरहेको बताएका छन् । एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन साहसँग प्रतिस्पर्धामा रहेका तामाङले नेकपा कसैसँग चुनावी तालमेल नगरी एक्लै मैदानमा उत्रिएको बताए ।

उनले भनेका छन्, ‘म आफ्नो एजेन्डा र मुद्दा सुनाएर चुनावमा जाँदैछु, मतदाताको घरदैलोमा पुगेर मैले आफ्नो विषय र विचार राखेको छु । अरू सबैले पनि राख्ने क्रम जारी छ। मलाई आशा र विश्वास छ, यस पटकको जनताले आफ्नो मत स्वतन्त्र, निष्पक्ष र भयरहित ढङ्गबाट व्यक्त गर्न पाउनुहुनेछ ।’

उनले चुनावी गठबन्धनबारे भइरहेको चर्चामा कुनै सत्यता नभएको जिकिर गरे । उनले थपेका छन्, ‘विशेष समयमा चुनाव हुँदैछ, यो चुनावको सरगर्मी बढ्दै जाँदा कसको कोसँग तालमेल, कसको कति शक्ति, को कति लोकप्रिय अथवा कसलाई किन भोट हाल्ने भन्ने कुराहरू व्यापक बहसमा छ । मैले हाम्रो पार्टीको संयोजक प्रचण्डसँग नै कुरा गरेको छु र उहाँको भनाइ अनुसार नै अहिले हाम्रो यो चुनावमा कोहीसँग तालमेल हुँदैन। हामी कोहीसँग अहिले चुनावी तालमेल गर्न चाहँदैनौँ ।’

नेकपा आफ्नो एजेन्डा र मुद्दा बोकेर स्वाधीनताको, राष्ट्रियताको, भ्रष्टाचारमुक्त नेपालको, सुशासनको र प्रत्यक्ष निर्वाचित कार्यकारीको, नव पुस्ताहरूको विद्रोहले उठाएको, त्यसको मर्म र भावना अनुरूपको ऐन कानुनहरू निर्माण गर्ने कुरामा र सबै प्रकारका उत्पीडित जाति, क्षेत्र, समुदाय, वर्ग र भूमिहीन, सुकुमबासी, मजदुर, किसानहरूको अधिकारलाई संस्थागत गर्ने एजेन्डा र मुद्दा लिएर चुनावमा गएको बताए ।