नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा नयाँ हो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ २३ २०८२
2.9K
SHARES

२३ माघ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् । “आजकाल नयाँ भनेर सोसल मिडियामा होहल्ला गर्नेहरू नयाँ हुन् ? ती सबैभन्दा पुराना हुन्,” प्रचण्डले भने, “नयाँ केलाई भन्ने जसको विचार, एजेन्डा नयाँ छ त्यही नयाँ हो । जसले राष्ट्र र जनताको हितको निम्ति आफूलाई समर्पित गर्दछ, त्यही नयाँ हो ।”

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गरे । “नयाँ र पुरानाका कुरा छन् । आजभोलि नयाँ-नयाँ भन्नेतिर मान्छेहरूलाई सोसल मिडियामार्फत निकै नै होहल्ला गरिएको छ,” प्रचण्डले भने, “नेपालमा हामीभन्दा नयाँ कोही पनि छैनन् । नेपाली कम्युनिस्ट पार्टी मात्रै नयाँ हो । नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा नयाँ हो । किनकि यो गणतन्त्रको वाहक हो । संघीयताको वाहक हो ।”

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र थारूलाई पहिचान र अधिकार दिने आफ्नो पार्टी भएको जिकिर गरे । नयाँ भन्नेहरूकै कारण देश संकटमा परिरहेको उनको टिप्पणी छ ।
प्रचण्डले विचार र एजेन्डाका आधारमा मात्र को नयाँ र को पुरानो भन्ने छुट्याउनुपर्ने तर्क गरे । राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति नै वास्तविक नयाँ भएको उनको भनाइ छ ।