सूर्यको जीत पक्का छ – अध्यक्ष ओली
२३ माघ काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको जित पक्का भएको दाबी गरेका छन्। शुक्रबार चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झापा ‘ओलीमय’को जिकिर गरे। झापाका मतदाता एमालेको पक्षमा रहेको बताउँदै ओलीले भने, ‘सूर्यको जीत सियोर छ।’ चुनावी अभियान र माहोलबारे चर्चा गर्दै ओलीले यसपटक युवाको उत्साहजनक सहभागिता रहेको सुनाए। युवा स्वतःस्फूर्त रूपमा सूर्यलाई जिताउन प्रचारप्रसारमा लागेको उनको भनाइ थियो। नयाँ पुस्ता राजनीतिमा आउनु र सिक्न खोज्नु सकारात्मक भएको टिप्पणी गरे।
सत्य र विकासको पक्षमा जनता रहेकाले कुनै पनि षड्यन्त्रले एमालेको जितलाई रोक्न नसक्ने उनको भनाइ थियो। उनी शुक्रबार काठमाडौँबाट झापा फर्किएका हुन्। झापा-५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदावर बनेका छन्। यसअघि उम्मेदवारी दर्तापछि माघ १० गतेसम्म घरदैलो कार्यक्रम गरेका थिए। अब दुई दिन झापा-५ अन्तर्गतको कमल गाउँपालिकाका विभिन्न वडामा कार्यकर्ता भेटघाटको कार्यक्रम तय भएको एमाले झापाले जनाएको छ। उनी एक साता झापाकै कार्यक्रममा सहभागी हुनेछन्।