सरकारको गोलीबाट कुनै युवा मारिनु हुँदैन – सभापति थापा


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २४ २०८२
2.1K
SHARES

२४ माघ काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसले हिजो नेपाली कांग्रेसले गरेका सबै राम्रा कामहरू बोकेर आएको बताएका छन्। गोकर्णश्वरमा सर्लाहीका मतदातासँगको अन्तरक्रियामा बोल्दै हिजो कांग्रेसले गरेका गल्ती कमजोरीहरूलाई स्वीकार गरेर आएको बताए।

उनले भने, ‘जे जति खराब कामहरू भए, कसैलाई दोष दिन्न म। म पनि त्यहीँ भित्र थिएँ। कुनै व्यक्ति, पात्रलाई दोष दिएर पनि हुँदैन। समाजमा एकले अर्कालाई दोष लगाएर तँ खराब, म असल भनेर पनि हुँदैन। हामी एउटै समाजमा बस्छौँ।’ उनले चुनाव पछाडि पनि देश अगाडि बढ्नुपर्ने बताए।

उनले भने, ‘चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन। चुनाव पछाडि फेरि बनाएको सिंहदरबार जल्नु हुँदैन। चुनाव पछाडि फेरि नयाँ बनेको संसदको भवन जल्नु हुँदैन। चुनाव पछाडि सरकारको गोलीबाट कुनै युवा पनि मारिनु हुँदैन।

चुनाव पछाडि सडकमा कोही आएर फेरि आफ्नो रिस प्रकट गर्ने अवस्था पनि बन्न दिनुहुन्न। चुनाव पछाडि पनि सबैलाई मिलाएर लिएर जानुपर्छ। रिस, उत्तेजनाले मात्र हुँदैन। घृणाले मात्र हुँदैन। सबैलाई मिलाएर लिएर जाने साहस कांंग्रसले राख्छ।’