राप्रपालाई जिस्काउने प्रयास कसैले नगर्नू – अध्यक्ष लिङ्देन
२५ माघ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’ खाएर बनेको पार्टी नभएको बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका उमेदवार कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको बताए । राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न उनले चेतावनी दिए ।
“राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कसैले कमजोर नठाने हुन्छ र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम कसैले नपाले हुन्छ,” लिङ्देनले भने, “सबै चुनौतीहरूको सामना गर्ने सामर्थ्यका साथ तयार भएको हुनाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिस्काउने प्रयास कसैले नगर्नु भनेर म भन्न चाहन्छु ।” दुर्गा प्रसाईंमाथि सरकारले पटक–पटक पक्राउ गरेको भन्दै उनले आलोचना गरे । देशमा अतिवाद र विदेशी हस्तक्षेप बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले मतदाताहरूलाई फेसबुक, रिल र टिकटकका आधारमा धारणा नबनाई देशको भविष्यलाई केन्द्रमा राखेर सोच्न आग्रह गरे ।