भूराजनीतिक चलखेल भइरहेको छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २६ २०८२
1.8K
SHARES

२६ माघ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रमाथि प्रहार गर्ने भूराजनीतिक चलखेल भइरहेको जिकिर गरेका छन्।  सोमबार नेकपा काठमाडौँ-५ ले आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमार्फत फण्डा गर्नेहरूसँग कुनै योजना नभएको औंल्याए।

‘सामाजिक सञ्जालमा फण्डा गरे पनि उनीहरूसँग कुनै योजना र एजेन्डा छैन। विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिजम प्रस्तुत गर्दै लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गरेको छ,’ उनले भने, ‘नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेना दोहोर्‍याउने र लोकतन्त्रमाथि प्रहार गर्ने भूराजनीतिक चलखेल भइरहेको छ।’ उनले अन्तर्राष्ट्रिय हस्तक्षेपको प्रतिवाद गर्न जनताको तागत चाहिएको बताए। ‘त्यसको प्रतिवाद गर्न पनि नयाँ संकल्प र नयाँ समीक्षासहित राष्ट्र र जनताको निम्ति तागत चाहिएको छ। त्यही तागतका लागि नेपाली कम्युनिस्ट पार्टी बनाएको हो,’ उनले भने।

नेकपामा सबै कम्युनिस्ट शक्ति अटाउने पार्टी भएको उनको भनाइ थियो। प्रचण्डले भने, ‘नेपालभित्र रहेका सबै कम्युनिस्ट शक्ति अट्न सक्ने गरी नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेका छौँ, यो पार्टीमा हाल साना र ठूला २६ पार्टी जोडिएका छन् भने हजारौँ कार्यकर्ताहरू जोडिएका छन्।’ नेकपाले सुरुदेखि नै निर्वाचन भनेको र अहिले सिँगो देश निर्वाचनमा होमिएको उनले बताए। नेकपा दिनदिनै बलियो हुँदै गएको उनको भनाइ थियो।