आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ – अध्यक्ष ढकाल
९ फागुन नयाँ दिल्ली । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले नेपाल–भारतबिच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठुलो व्यापार साझेदार र प्रमुख लगानी स्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबिचको साझेदारीलाई विशिष्ट बनाएको बताए ।
उनले विश्व अर्थतन्त्र अनिश्चितता र आपूर्ति शृङ्खलामा अवरोधको अवस्थामा रहेको उल्लेख गर्दै छिमेकी राष्ट्रबिच सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिए । भारतको हालैको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवर्द्धनमा दिएको प्राथमिकताले नेपालका लागि समेत नयाँ अवसर सिर्जना गर्ने उनको धारणा थियो ।
उनले भने “नेपालमा ऊर्जा, पर्यटन औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा प्रशस्त सम्भावना रहेको छ । यस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्दछु ।”