अर्थतन्त्रमा सुधारको संकेत – राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन १३ २०८२
2K
SHARES

१३ फागुन काठमाडौं । नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको समीक्षाले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको नेपाल राष्ट्र बैंकको दाबी छ । केन्द्रीय बैंकले मंगलबार (फागुन १२) सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत यस्तो दाबी गरेको हो । जसअनुसार ऊर्जा उत्पादन, पर्यटन आगमन र विप्रेषणमा भएको वृद्धिले आर्थिक गतिविधिलाई चलायमान बनाएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षमा मौसमको प्रतिकूलताका कारण धानको उत्पादनमा ४.२ प्रतिशतले कमी आउने अनुमान गरिए तापनि अन्य बालीहरूको उत्पादन बढेकाले कृषि क्षेत्रको समग्र उत्पादन सकारात्मक रहने देखिएको राष्ट्र बैंकको तर्क छ ।यसैगरी हालसम्म जलविद्युत् उत्पादनमा उल्लेख्य प्रगति भएको छ । दोस्रो त्रैमाससम्म थप ३८९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

भौतिक पूर्वाधारतर्फ नागढुंगा–नौबिसे सुरुङमार्ग यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने गरी तयारी कार्य भइरहेको छ । साथै, निर्माणाधीन राजमार्गहरूको कामले पनि गति लिएको उल्लेख छ ।

केन्द्रीय बैंकका अनुसार, सेवा क्षेत्रमा पनि क्रमिक सुधार देखिएको छ । जसअन्तर्गत सन् २०२५ मा विदेशी पर्यटकको संख्या ११ लाख ५८ हजार पुगेको छ । “वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढ्दै गएकाले विप्रेषण आप्रवाह (रेमिटेन्स)मा उल्लेख्य वृद्धि भएको छ । यसले गर्दा नेपाली घरपरिवारको खर्च गर्ने र लगानी गर्ने क्षमता बढ्नुका साथै आन्तरिक पर्यटन विस्तारमा समेत ठूलो योगदान पुगेको अनुमान छ,” मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।

यस्तै, हाल उपभोक्ता मुद्रास्फीति (महँगी) नियन्त्रणमा रहेको र यो लक्षित सीमाभन्दा केही कम हुने प्रक्षेपण गरिएको छ । विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्य घट्नु र छिमेकी मुलुकहरूमा पनि मुद्रास्फीति न्यून रहनु यसका मुख्य कारण रहेको राष्ट्र बैंकको तर्क छ ।

यद्यपि, अन्तर्राष्ट्रियस्तरमा विद्यमान भू–राजनीतिक तनाव र व्यापार महसुलमा हुने उतारचढावले मूल्यमा चाप पर्न सक्ने जोखिम भने कायमै रहेको उल्लेख छ । आयातको तुलनामा विप्रेषणको प्रवाह राम्रो रहेकाले विदेशी विनिमय सञ्चिति पनि मजबुत रहने देखिएको केन्द्रीय बैंकको भनाइ छ ।

आर्थिक परिदृश्यलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा सजगतापूर्वक लचिलो कार्यदिशा अपनाइएको राष्ट्र बैंकको दाबी छ ।

वित्तीय प्रणालीमा उपलब्ध न्यून लागतका साधनहरूलाई उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धिमा परिचालन गर्ने अवसर सिर्जना भएको समेत राष्ट्र बैंकले बताएको छ । केही नियामक व्यवस्थाहरूमा परिमार्जन गर्दै अर्थतन्त्रलाई थप चलायमान बनाउने लक्ष्य राष्ट्र बैंकले लिएको छ ।